९ मंसिर २०८१, आईतवार
अन्तराष्ट्रिय

भारतमा बाढीको बितण्डा : ४५ वर्षपछि यमुनाको बाढी ताजमहल पस्यो, हिमाञ्चलमा भारी वर्षाको चेतावनी

१ साउन, काठमाडौं । उत्तर भारतमा लगातारको वर्षाले यमुना नदीमा आएको बाढीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । उत्तरी भारतको पहाडी क्षेत्रमा पुन: भीषण वर्षा हुने पुर्वानुमान गरिएको छ ।

आगरामा यमुना नदीले आइतबार बिहान खतराको स्तर (२०५.३३ मिटर) पार गरेको छ भने ४५ वर्षपछि यमुनाको बाढी ताजमहलको पर्खालसम्म पुगेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएको छ ।

दिल्लीमा यमुनाको बाढीको बहाब घटेपनि अहिले पनि खतराको स्तर (२०५.३३ मिटर) माथिबाट पानी बगिरहेको छ ।

गढमुक्तेश्वरमा पनि गंगाको जलस्तर १३ वर्षपछि पहेँलो संकेत पार गरेको छ। ब्रजघाटमा गंगाको पानी आरती स्थल नजिकैको सिँढीमा पुगेको छ। हिमाचल प्रदेशमा पनि आइतबार अशिकांश जिल्लामा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमान अनुसार प्रदेशका सबै जिल्लामा भारी वर्षा हुने चेतावनी दिइएको छ। यस अवधिमा केही स्थानमा बादल फाट्ने र अचानक बाढी आउन सक्ने चेतावनी दिइएको छ। दिल्लीमा पनि तीन दिनसम्म हल्का वर्षाको सम्भावना रहेको पुर्वानुमान गरिएको छ।

आइतबार उत्तर प्रदेशका अधिकांश जिल्लामा बादल लागे पनि  वर्षाको सम्भावना भने सुख्खै छ। केही जिल्लामा भने  हल्का छिटफुट वर्षा भएको छ । यस्तो अवस्थामा पनि नदीको जलस्तर केही घटबढ भइरहेको छ ।  जसकारण आगराको दक्षिणी किनारमा एटमदौलाको यमुना किनारमा रहेको कोठाहरूमा एकदेखि डेढ फिटसम्म पानी भरिएको छ। यसका साथै ताजमहलको छेउमा यमुनाको किनारमा बनाइएको बगैँचासम्म बाढी पुगेको छ ।  

यसअघि सन् १९७८ को बाढीमा यमुनाको पानी ताजमहलको तहखानेसम्म पुगेको थियो। यमुनाको बाढीले सीमावर्ती गाउँ पनि डुबेको छ । प्रशासनले भने त्यहाँ सतर्कता अपनाउन भनेको छ ।

सडक छेउमा लगाइको स्याउको बगैँचामा क्षति

यता हिमाचल प्रदेशमा आइतबार अधिकांश स्थानमा भारी वर्षा भएको छ । रोहडुको मनखुनमा वर्षाका कारण सडक छेउमा लगाइएको स्याउका बगैँचामा क्षति भएको छ ।

जाहलमा नालाहरू फेरि भरिएका छन् यसले चन्द्रभागा नदीमा बनाइएको ताल भरिएको छ । मण्डीमा घरको छाना खस्दा दुई जनाको मृत्यु भएको छ भने मनालीमा पदयात्रा  गएका दुई जनाको शव हिउँमा पुरिएको अवस्थामा भेटिएको छ ।

ऋषिकेशमा खतराको नजिक गंगा नदी

यस्तै उत्तराखण्डमा पहाडी क्षेत्रमा निरन्तरको वर्षाले नदीहरुको जलस्तर अत्यधिक बढेको छ ।

यही कारण आइतबार श्रीनगर बाँधबाट पानी छाड्नु परेको थियो, जसले ऋषिकेश र हरिद्वारसमेत मैदानी क्षेत्रमा गंगा नदीको जलस्तर बढ्‍ने स्थिति गम्भीर बनिसकेको छ ।

ऋषिकेशमा गंगा नदी खतराको स्तर पार गरेर बगिरहेको छ । बद्रीनाथ तथा हेमकुण्ड यात्रामा आएका १ हजार ५ सय बढी तीर्थयात्रीहरू अलपत्र परेका छन्। उनीहरू राजमार्ग खुल्ने आशा पर्खिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्