१४ कार्तिक २०८१, बुधबार
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा आज ‘ठूली गौरा’ पर्व मनाइँदै

६ भदौ, बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् ।

स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहिआएको छ ।

आज अमूक्ताभरण सप्तमीका दिन व्रतालु महिला एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको दोगडाकेदार गाउँपालिका-६ सित्तडकी कमला भण्डारी बताए ।

गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको छ । व्रतालु महिलाले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबोधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

यसका साथै साँझको समयमा व्रतालु महिलाले कुण्ड स्नान गर्ने चलन रहिआएको छ । आजको गौरादेवीमा चढाएको दुबोधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठाबालीका दिन व्रतालु महिलाले धारण गर्ने गर्दछन् ।

गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाले राति मिठोमसिनो खाना खाने चलन छ । गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । यस वर्ष तिथिका विषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । कुनै ठाउँमा यही भदौ ४ गतेदेखि गौरा सुरु भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्