३ आश्विन २०८१, बिहीबार
अर्थ

भोजपुरमा अकबरे खुर्सानी खेती, मनग्य आम्दानी

१२ भदौ, भोजपुर। व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।

स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ ।

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खेतीमा प्रोत्साहन गरेको छ । पौवादुङमाका किसानले उत्पादन भएको खुर्सानी तिवारी भञ्याङ बजार तथा अन्य जिल्लामा निर्यात गर्दै आएका छन् ।

यही क्षेत्र भएर मध्यपहाडी लोकमार्गअन्तर्गत सवारीसाधनको आवतजावत हुने भएकाले उत्पादन भएको खुर्सानी बिक्री वितरण गर्न सहज भएको पौवादुङमा-२ तिवारीभञ्याङका किसान टीकाराम तिवारीले बताए ।

गाउँमा उत्पादन भएको खुर्सानी सङ्कलन गरेर दैनिकजसो बाहिरी जिल्लाका बजारमा पठाउँदै आएको तिवारीले जानकारी दिए ।

‘पौवादुङमा क्षेत्रमा धेरै किसानले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन्’, तिवारीले भने, ‘सडकको सहजताका कारण यहाँ उत्पादन भएको खुर्सानी बढी मात्रामा बाह्य जिल्ला जाने गरेको छ । खुर्सानी बिक्रीबाट राम्रै आम्दानी हुन्छ ।’

खुर्सानी बिक्रीबाट वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी लिने गरेको किसान तिवारीले बताए ।  यहाँका एक किसानले सरदरमा वार्षिकरूपमा रु ५० हजारदेखि रु पाँच लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ ।

तिवारीभञ्याङ क्षेत्रमा एक सय बढी घरले व्यावसायिकरूपमा खेती गर्दै आएको किसान तिवारीले जानकारी दिनुभयो । खुर्सानी खेतीका लागि गाउँपालिकाले आवश्यक सहयोग गरेकाले थप सहज भएको उनको भनाइ छ ।

‘हाम्रो गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती गर्ने किसानको सङ्ख्या धेरै नै छ’, उनले भने, ‘विगतमा कमै मात्रामा किसानले खेती गर्दै आएका थिए । गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गरेपछि प्रायः सबै किसानले खेती गरेका छन् । गाउँपालिकाको सहयोगले यसको व्यावसायिक खेतीमा लाग्न हामीलाई टेवा पुगेको छ ।’

खुर्सानी खेती गाउँपालिकाको राम्रो आम्दानीको स्रोत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ । गाउँपालिकाले भूगोलअनुसारको बालीमा जोड दिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

‘अकबरे खुर्सानी खेती किसानको राम्रो आम्दानीको स्रोत बनेको छ’, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, ‘गाउँपालिकाले खुर्सानी खेतीमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि खेतीमा लाग्ने किसानको सङ्ख्या बढेको अवस्था छ । गत वर्ष मात्र हाम्रो गाउँपालिकामा खुर्सानी विक्रीबाट रु छ करोड बढी भित्रिएको अवस्था छ ।’

कृषिबाट स्थानीयको आयस्तरमा सुधार ल्याउँदै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

छवटा वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताका आधारमा छुट्याएर माटो र हावापानी सुहाउँदो खेती लगाउनको लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

‘कृषिमा हामीले दूरगामी योजनाका साथ लगानी गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘खास गरेर हामीले यहाँ माटो सुहाउँदो बालीमा जोड दिएका छौँ । गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर थालेको लगानीको स्थानीयले प्रतिफल लिन थालेका छन् । अहिले गाउँपालिकामा वार्षिकरूपमा छ करोड बढीको खुर्सानी उत्पादन हुने अवस्था छ ।’

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे–४, बास्तिम–५, सानोदुम्मा–६, ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडो खेतीको पकेट क्षेत्र निर्धारण गरिएको जनाएको छ ।

त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालयमुनिको भूगोललाई आलु, बन्दाकोबी र काउली खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए ।

वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किबीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्