३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

नेपालविरुद्ध पाकिस्तानी कप्तान आजमको शतक

१३ भदौ, काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपालविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।

मुल्तान रङ्गशालामा केहीबेर अघि आजमले शतक प्रहार गरेका हुन् । उनले एक सय नौ बल खेल्दै १० चौकासमेत प्रहार गरे । एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो । आजम आफ्नो एक सय ३ औँ एकदिवसीय खेल खेलिरहेका छन् ।

नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सय रन बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् ।

कप्तान आजमले हालसम्म ४९ टेष्ट प्रतियोगिता खेलिसकेका छन् । उनले यस क्रममा नौ शतक र २६ अद्र्धशतक प्रहार गर्दै तीन हजार सात सय ७२ रन बनाइसकेका छन् । कप्तान आजमले पाकिस्तानका लागि एक सय चार टी–२० प्रतियोगिता खेलेका छन् ।

उनले यस क्रममा तीन शतक तथा ३० अद्र्धशतक प्रहार गरेका छन् । उनले टी–२० प्रतियोगितामा हालसम्म तीन हजार चार सय ८५ रन बनाएका छन् ।

यस्तै पाकिस्तानका लागि इफ्तिखार अहमदले अद्र्धशतक प्रहार गरेका छन् । उनले ४५ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । पाकिस्तानले केहीबेर अघिसम्म ४३ ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४२ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्