३ कार्तिक २०८१, शनिबार
राजनीति

चिनियाँ राजदूतलाई सचेत गराउन परराष्ट्रलाई संसदीय समितिको निर्देशन

२१ भदौ, काठमाडौं । चिनियाँ राजदूत छन सङले नेपाल–भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ ।

बिहीबार बसेको संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले यसै विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाएको थियो । बैठकमा समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै सचेत गराउनु पर्ने धारणा राखेको थिए ।

बैठकको अन्तिममा समिति सभापति राजकिशोर यादवले निर्देशन दिँदै यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए ।

‘नेपाल सार्वभौम मुलुक हो । के गर्ने नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक हो’, समिति सभापति यादवले भने, ‘चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो भन्ने बारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउनु निर्देश गर्दछु ।’

परराष्ट्रमन्त्री साउदले आफू काठमाडौँ बाहिर रहेकाले यस विषयमा पर्याप्त जानकारी नभएको जवाफ दिएका थिए ।

चिनियाँ राजदूत छनले गएको शनिबार फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज नामक संस्थाले शनिबार काठमाडौँमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा भारत र नेपालको व्यापार सम्बन्धमाथि नकरात्मक टिप्पणी गरेका थिए ।

‘यो आर्थिक वर्षको पहिलो एक महिनामा (एक वर्षमा होइन) भारतबाट कति सिरिज आयात भयो थाहा छ ? तपाईंले भारतबाट सात अर्ब नेपाली रुपैयाँको ठूलो आयात गर्नुभयो । त्यसोलाई १२ ले गुणन गर्नुहोस् । १० अर्ब मात्रै होइन, भारतबाट प्रत्येक वर्ष सैयौँ अर्ब नेपाली रुपैयाँको कृषि उपज आयात हुने गरेको छ’, उनले भनेका थिए, ‘त्यसैले नेपाल सरकारलाई मैले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको थिएँ । त्यो धेरै महत्त्वपूर्ण छ । साथै, तपाईंसँग धेरै बलियो औद्योगिक आधार छैन । तपाईंको उत्पादन क्षेत्र जीडीपीको १४ प्रतिशतबाट अहिले १० प्रतिशत भन्दा तल झरेको छ ।’

यस विषयमा विवाद बढ्दै गएपछि समितिले परराष्ट्रमन्त्रीलाई बैठकमा बोलाएर जानकारी माग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरु