३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाज

अनधिकृत प्रचार सामग्री टाँस्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना

२३ भदौं, काठमाडौँ ।अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले जरिवाना तिराएको छ ।

विभिन्न पदमा रोजगारको अवसर उल्लेख भएको पर्चाको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर महानगरले जरिवाना तिराएको हो ।

नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईं र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ ।

यसको वास्ता नगरी सार्वजनिक स्थानमा पर्चाँ टाँस्ने, सडकमा हिँड्नेलाई वितरण गर्ने कार्य भने रोकिएको छन् । उनीहरुमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरुको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गर्ने गरेका छन् ।

गणेश आचार्य एस. वी. जब. सर्भिस लिङ्कसँग आवद्ध छन् । यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ ।

तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ । कर्मचारी मागको संख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ । अन्तरवार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ । काम कसले दिने हो, कम्पनी कस्तो हो, त्यसको विवरण खुलाइएको छैन ।

गएको बुधबार उपप्रमुखको सचिवालयमा रोजगारका नाममा युवायुवती ठगिँदै छन् भन्ने गुनासो टिपाइएको थियो ।

सचिवालय प्रमुख सौरभ गौत्तमका अनुसार, काम पाइन्छ भनेर कम्पनीमा जानेहरुसँग तलब स्केल देखाएर त्यसवापत शुल्क उठाउने गरेको गुनासो आएको हो ।

शुल्क उठाउनेहरु वेपत्ता हुन थालेपछि गुनासो आउन थालेको हो । पैसा पनि लिने र कम्पनी भएको कोठा बन्द गरेर फरार हुने गरेको गुनासो महानगरमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्