४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा

२४ भदौ,काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ ।

पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन’चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती, कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा पानी परिरहेको छ । उक्त वर्षा हल्कादेखि मध्यम खालको रहेको छ ।

यसैगरी आज रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाडौँमा आज दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताए ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन’ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्