४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

२४ भदौ, काठमाडौँ। स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।

इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किनुभएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने उनले बताए ।

उनले भने, ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।’

मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका विषयमा वृहत छलफल भएको समेत जानकारी दिए ।

जनसङ्ख्या र स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै एकैसाथ अघि बढाउन सकिए अन्य क्षेत्रको पनि विकास हुने उनको भनाइ छ । इजिप्टका स्वास्थ्य मन्त्रीले यसको आवश्यकतालाई ध्यानमा राखेर अर्को वर्ष पनि यो कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु, दातृ निकायका प्रतिनिधि र राजनीतिक नेतृत्वहरुसँग आफूले भेटघाट गरेर रणनीतिक विषयमा छलफल भएको मन्त्री उनले जानकारी दिए ।

आगामी महिना हुने विश्व स्वास्थ्य सङगठन (डब्लूएचओ) को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका नेपालका जनस्वास्थ्य विज्ञ डा शम्भु आचार्यका पक्षमा नेपाल सरकारको प्रतिनिधिका रुपमा र स्वास्थ्य मन्त्रीका हैसियलले सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरुसँग लबिङ गरेको उनले जानकारी दिए ।

इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसङख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्