३ आश्विन २०८१, बिहीबार
समाज

राहत शिक्षकले मौका परीक्षा दिन पाउने, फेल भए आर्थिक सुविधा

२७ भदौ, काठमाडौं । राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले स्थायी हुनका लागि परीक्षा दिन पाउने भएका छन् ।

सरकारले राहत शिक्षकका लागि उमेर हद नलाग्ने गरी विद्यालय शिक्षा विधेयक ल्याएको हो ।

बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा राहत शिक्षकलाई स्थायी हुने मौका दिनका लागि सरकारले कुल दरबन्दीमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार नेपालमा ४४ हजार राहत शिक्षक छन् ।

विधेयकमा भनिएको ट, ‘कुल दरबन्दीको ५० प्रतिशत सिटमा राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकहरुमध्येबाट सीमित प्रतिस्पर्धाका आधारमा र बाँकी ५० प्रतिशत सिटमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिई आयोगको सिफारिसमा पदपूर्ति गरिनेछ ।’

यस्तै छुट्याइएको ५० प्रतिशत सिटको विज्ञापनमा पदपूर्ति हुन नसकेमा अर्को वर्ष खुला प्रतियोगिताको आधारमा हुने विज्ञापनबाट बाँकी सिटमा पूर्ति गरिनेछ ।

परीक्षा दिएर स्थायी हुन नसकेका शिक्षकलाई आर्थिक सुविधासमेत दिएर बिदा गरिनेछ ।

‘सीमित प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षकले सेवा अवधिको आधारमा नेपाल सरकारले निर्धारण गरे बमोजिमको आर्थिक सुविधा प्राप्त गर्न सक्नेछन्’, प्रस्तावित विधेयकमा उल्लेख छ ।

साथै, प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए ऐन प्रारम्भ हुँदाका बखत कक्षा ११ र १२ मा अध्यापन गरिरहेका शिक्षकलाई आयोगबाट लिइने माध्यमिक तहको तृतीय र द्वितीय श्रेणीको खुला तर्फको विज्ञापनमा भाग लिन उमेर हद लाग्ने छैन ।

आधारभूत तहको विषयगततर्फ द्वितीय र प्रथम श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने २० प्रतिशत पदमा सो पदको लागि तोकिएको न्यूनतम योग्यता भएको र सेवा अवधि पूरा गरेका आधारभूत तहमा कार्यरत एक श्रेणी मुनिका स्थायी शिक्षकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

माध्यमिक तह द्वितीय श्रेणीको खुला प्रतियोगिताबाट पूर्ति हुने पदमा कम्तीमा माध्यमिक तहको तृतीय श्रेणी वा सो सरहको शिक्षक पदमा पाँच वर्ष अध्यापन गरेको शिक्षकहरुमध्येबाट प्रतिस्पर्धाको आधारमा पदपूर्ति गरिनेछ । तर त्यस्तो शिक्षकले कुनै विद्यालयमा एक बर्षभन्दा कम अवधि अध्यापन गरेको भएमा त्यस्तो सेवा अवधि गणना गरिने छैन ।

माध्यमिक तहको तृतीय श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने तीस प्रतिशत पदमा सो पदको लागि तोकिएको न्यूनतम योग्यता भएको र सेवा अवधि पूरा गरेका आधारभूत तहमा कार्यरत स्थायी शिक्षकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने बीस प्रतिशत पदमा सो पदको लागि तोकिएको न्यूनतम योग्यता भएको र सेवा अवधि पूरा गरेका एक श्रेणी मुनिका स्थायी विषयगत शिक्षकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

साथै, स्थायी शिक्षकले समान पदमा प्रतिस्पर्धा गर्न पाउने छैन ।

प्रतिक्रिया दिनुहोस्