४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाज

व्यवस्थापन संकायकै डिन भन्छन् : व्यवस्थापन पढेकालाई रोजगारीमा समस्या छ

२८ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माले व्यवस्थापन पढेका जनशक्तिलाई रोजगारी पाउन समस्या परेको बताएका छन् । विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेपनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको पनि उनले बताए ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले व्यवस्थापन संकायका दक्ष र सीपयुक्र विद्यार्थीले पनि नेपालका उद्योगहरुमा रोजगारी पाउन नसकेको बताए । ‘जुन लेभलको इन्डस्ट्रिलाइजेसन हुनुपर्ने थियो, औद्योगिक प्रतिष्ठानहरुको विकास हुनुपर्ने, जुन किसिमको व्यवसायिक प्रतिष्ठानहरुको विकास हुनुपर्ने थियो, हाम्रा विद्यार्थीहरुले त्यहाँ त्यो अवसर पाउनुपर्ने हो । त्यो खालको अवसर पनि हामी कहाँ कमी छ’, उनले भने ।

विश्वविद्यालयले व्यवस्थापनका विद्यार्थीलाई उद्योगधन्दामा इन्टर्नसिप गराउन नसकेको पनि उनले स्वीकार गरे । ‘हामीले जुन रुपबाट हाम्रो पठनपाठनलाई लैजानुपर्ने हो, विद्यार्थीहरुलाई जति इन्डस्ट्री एक्सपोजर दिनुपर्ने हो ।

जति हामीले उनीहरुलाई इन्टर्नसिप वा व्यवहारिक रुपबाट लैजानुपर्ने हो । त्यो लेभलमा हामी लैजान सकेका छैनौं’, डिन डा. शर्माले भने । विद्यार्थी संख्या धेरै भएकाले पनि त्यसो गर्न नसकेको उनको भनाइ छ ।

प्रा.डा. शर्माले व्यवस्थापन संकायमा अध्यापनरत शिक्षकहरुको उचित सेवा सुविधाबारे सरकार गम्भीर हुनुपर्ने बताए ।

त्रिविले आंगिक क्याम्पसहरुमा पठनपाठन गर्ने शिक्षकहरुलाई तलव, भत्ताको सुविधा दिने गरेपनि बीबीए, बीबीएम, बीआईएम, बीएचएम लगायतमा अहिलेसम्म दरबन्दीको व्यवस्थापन नभएको बताए । त्यसैले ती कार्यक्रमका अध्यापकका लागि खर्च विद्यार्थीबाटै उठाउनुपरेको बताए ।

‘सेल्फ सस्टेन्स प्रोग्रामको रुपमा सञ्चालन गरिएको हुनाले आंगिक क्याम्पसमै पनि शुल्क केही बढी छ । प्राइभेट क्याम्पसमा त भाडा आदि इत्यादि धेरै कारणहरु देखाउनु हुन्छ उहाँहरुले । त्यही कारण फी केही बढी भएको महँगो भएको गुनासो हामीले पनि पाएका छौँ’ प्रा.डा. शर्माले भने । त्रिविको व्यवस्थापन संकायमा २ लाख भन्दा बढी विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्