४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

२८ भदौ, काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

विसं २००९ फागुन २८ गते जन्मनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुन् ।

यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत रहेका थिए । संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक आगामी असोज १२ गते शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्