नागरिकका अपेक्षा पूरा गर्न इमान्दार प्रयास गर्नेछु : प्रस्तावित न्यायाधीश शर्मा
२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माले आम नागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमान्दार प्रयास गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै शर्माले सो कुरा बताएका हुन् ।
न्यायाधीशलाई वास्तविक न्यायाधीश, आचरण र व्यवहारले बनाउँछ भन्दै उनले तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति पूर्ण प्रतिबद्धतासमेत जनाएका छन् ।
उनले भनेका छन्, ‘न्यायपालिकाप्रतिको निष्ठा र आस्था न्यायाधीशको आचरण र व्यवहारबाट प्रदर्शित हुने विषय हो । स्वतन्त्र न्यायपालिकाको अवधारणाको आलोकमा तयार भएको मिलान घोषणापत्र अनुकुल हुने गरी तयार भएको न्यायाधीशहरुको आचारसंहिताद्वारा निर्देशित रही स्वच्छ, सक्षम, निष्पक्ष, तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति मेरो पूर्ण प्रतिबद्धता रहेको छ ।
न्यायाधीशको रुपमा प्रमुख भूमिका न्याय सम्पादनमा नै रहने भए पनि न्यायिक सुधार प्रक्रिया र न्यायपालिकाको रणनीतिक योजनाहरुको तर्जुमामा पनि योगदान रहने उनले जनाएका छन् । उनले भनेका छन्, ‘विशेषगरी सर्वोच्च अदालतमा रहेका पुराना बक्यौता मुद्दाहरुको फर्छ्यौट, फरक मुद्दा व्यवस्थापन, पद्दतीको कार्यान्वयन, इजलासको समय व्यवस्थापन र बहस तथा सुनुवाइ व्यवस्थापनका सम्बन्धमा निश्चित मापदण्ड र कार्ययोजना तयार गरीलागु गर्ने कार्यमा मेरो सक्रिय पहल एवं सहभागिता रहने छ ।’
संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश शर्माको सुनुवाइ जारी छ । यसअघि समितिले १० दिनको म्याद दिएर उनीविरूद्ध उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ सुरू गरिएको हो ।
ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । १५ भदौमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो ।
अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।
प्रतिक्रिया दिनुहोस्