३ कार्तिक २०८१, शनिबार
राजनीति

अपाङ्गगतासँग सम्बन्धित नीतिगत व्यवस्था कार्यान्वयनको माग गर्दै संकल्प प्रस्तव दर्ता

३१ भदौ, काठमाडौं । अपाङ्गगता भएका व्यक्तिको पक्षमा बनेका सबै संवैधानिक, नीतिगत तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन विभेदकारी व्यवस्थाहरूको संशोधन वा खारेज तथा बन्न बाँकी कानूनी प्रबन्ध गर्न संकल्प प्रस्ताव राष्ट्रिय सभामामा दर्ता भएको छ ।

प्रस्तावक राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ हुन् । समर्थकमा राष्ट्रिय सभाका सांसद शारदा भट्ट, सिंग बहादुर विश्‍वकर्मा, भगवनी न्‍यौपाने र तुलप्रसाद विश्वकर्मा छन् ।

अपाङ्गता भएका व्यक्तिका पक्षमा बनेका सबै संवैधानिक, नीतिगत तथा कानूनी व्यवस्थाको प्रभावकारी  कार्यान्वयन विभेदकारी व्यवस्थाहरूको संशोधन वा खारेज तथा बन्न बाँकी कानूनी प्रबन्ध गर्न समेत नेपाल सरकारलाई देहाय बमेजिमका निर्देशनहरू दिन जरूरी देखिएकाले उक्त सङ्कल्प प्रस्ताव उल्लेख गरिएको छ ।

उनीहरूले अपाङ्गता सम्बन्धी यत्ति धेरै संवैधानिक तथा कानूनी प्रावधानहरूको व्यवस्था भएतापनि यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौतीको रूपमा खडा भएको उल्लेख गरेका छन् ।

साथै मौजुदा कानूनी व्यवस्थाको कमजोर कार्यान्वयन र कतिपय कानूनमा विद्यमान अपाङ्गता भएका व्यक्तिमाथि कानूनी विभेदले सिर्जना गरेको समस्या एकातर्फ छ भने कानूनप्रदत्त हकको प्रचलनमा राज्यका निकायले नै चासो र प्राथमिकतामा नराख्नुले अपाङ्गता भएका व्यक्तिहरू थप मर्कामा परिरहेको महसुस गरिरहेका प्रस्तावमा भनिएको छ ।

नेपालमा संविधान लगायत विकासका विभिन्न दस्तावेजहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक, आर्थिक लगायत सबै क्षेत्रमा पछाडि पारिएको समुदायको रूपमा स्वीकार गरिसकेको भए पनि   सरकारले दिगो विकासलाई लक्षित गरी लागु गरेका कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्न नसकेको ठहर गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिको लागि अवरोधमुक्त, समतामूलक, सम्मानजनक तथा मर्यादित  जीवनयापनका लागि संविधान तथा कानूनप्रदत्त मौलिक हक तथा नेपाल पक्ष रहेको अपाङ्गता अधिकार सम्बन्धी महासन्धिले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन गर्नु नेपाल राज्यका सबै तहका सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाको उच्च प्राथमिकता, दायित्व र जिम्मेवारी बन्‍न माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्