४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भोलिदेखि, भाडा कति ?

३ असोज, काठमाडौं । संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुने छ ।

उदघाटनको दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयरहरु मात्र चढ्ने छन् ।

यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

यात्रु कुरेर बस्ने छैनन् द्रुत सेवाका बस

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार ‘द्रुत बस सेवा’ भनेर लेखिएका बस सेवाको बुधबार उदघाटनको दिन यात्रुहरु चढ्न पाउने छैनन् ।

यात्रुहरुको सेवाका लागि भोलिपल्ट मात्र यी बसहरु हाजिर हुनेछन् । ‘बुधबार नमूनामात्रै देखाउने हो, ४ असोजदेखि पूर्णरुपमा सञ्चालन हुन्छ,’ विभागका प्रवक्ता पनेरुले भने ।

रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागका प्रवक्ता पनेरुले जानकारी दिए ।

विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतका स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरु बसहरु जस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्ने छैनन् ।

द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई द्रुत सेवाका लगि २५ वटा बस व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।

सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता द्रुत सेवाका सवारी साधन चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

कसरी चल्छन् द्रुत बस सेवा ?

यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने पोखरेलले बताए । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन, ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन्’, उनले भने ।

हाललाई यस्ता बसमा द्रुत सेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भएको पोखरेलले भने । ‘संविधान दिवसका दिनबाट ट्रायलका रुपमा चलाउनेछौं । एक सातापछिबाट भने पूर्णरुपमा सञ्चालन हुनेछ,’ उनले भने ।

४० सिट क्षमताभन्दा माथिका बसहरु द्रुत बससेवाका लागि सञ्चालनको तयारी रहेको मन्त्रालयले जनाएको छ ।

१९ स्थानमा ‘पिक एण्ड ड्रप’ मात्रै

यातायात व्यवस्था विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्नेछन् । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु भन्छन्, ‘बसमा द्रुत बस सेवा भनेर लेखिएको हुन्छ, भोलि यात्रु चढ्न पाउँदैनन् ।’

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतमा यात्रु उकाल्ने, ओराल्न मात्रै हुने र रोक्दै नरोकिने पनेरुले बताए । बस सञ्चालनपछि डेढ घण्टाको बाटो ४५ मिनेट बनाउनका लागि लेनको प्रयोग गरिने बताए ।

‘आज नमूना मात्रै देखाउने हो, ४ असोजदेखि पूर्णरुपमा सञ्चालन हुन्छ,’ उनले भने ।

‘कार्यालय समय र विद्यालय समयलाई लक्षित गरेर हामीले अहिले यो सेवा सुरु गरेका हौं । दुवैतर्फबाट ५/५ मिनेटको फरकमा बस छोड्छौं । यसलाई परीक्षण काल भनेका छौं । यो लेनमा अन्य अतिआवश्यक सवारीहरु कसरी प्रयोग गर्न सकिन्छ त्यो पनि अध्ययन गर्दै छौं,’ उनले भने ।

पनेरुको अनुसार कोटेश्वर र माइतीघरमा जक्सन भएकोले अलि समस्या हुने देखिए पनि ट्राफिक प्रहरीले सहयोग गर्ने बताए । यो रुटमा अहिले कायम भाडा तिरेर द्रुत बससेवा चढ्न पाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्