३ कार्तिक २०८१, शनिबार
राजनीति

भ्रष्टाचारका फाइल खुलेपछि सरकार ढल्ने कुरा हुन्छन् : धनराज गुरुङ

८ असोज, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले गति लिन खोज्दा ब्रेक लागेको टिप्पणी गरेका छन् ।मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले सरकार अघि बढ्न खोज्दा हातखुट्टा बाँधिएको बताएका हुन् ।

‘म त्यही मन्त्रिपरिषदको मन्त्री हुँ । तर बीच बीचमा ब्रेक लाग्छ, अपर्झट ब्रेक लाग्छ । एकदम सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा अब कुदयो है भन्ने लाग्छ । त्यसपछि हावाकावा चल्छ, ब्रेक लाग्छ’ कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले भने, ‘बडो चिन्ताको विषय छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘निवेदन छ सभापति महोदय, यसरी एकदमै छिटो दौडिन खोज्दा हातखुट्टा बाँधियो भने सरकार अगाडि बढ्न सक्दैन ।’

मन्त्री भनेको दुई दिनको घाम छायाँ हो भन्दै गुरुङले बसुन्जेल राम्रो काम गरौं भन्ने सोचाइ भए पनि काम गर्न सहज नभएको बताए । ‘…गर्न खोजेको, मनले ताकेको, आँटेको काम सहज ढंगबाट गर्न नसकिरहेको अवस्था छ’, उनले भने ।

सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार ढल्ने कुरा आउने गरेको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई नै प्रश्न गरे ।‘जब हामी भ्रष्टाचारका काण्डहरु एकपछि अर्को खोल्दै जान्छौं तब फेरि यो गठबन्धन भत्किने कुराहरु आउँछन् । सरकार ढाल्ने कुराहरु आउँछन् । किन यसो भइरहन्छ सभापति महोदय ? किन यस्ता आवाजहरु उठिरहन्छ ?’, कानुनमन्त्री गुरुङले प्रश्न गरे ।

राजनीति गर्ने व्यक्तिले व्यक्तिको नभई पार्टीको मुख हेर्नुपर्ने भन्दै उपसभापति गुरुङले व्यक्तिको मुख हेर्दा पार्टी ध्वस्त हुने स्थिति आउन नहुने बताए । ‘पार्टी बनाउन चाहन्छौं भने काण्डहरुको निष्पक्ष छानबिन गर्नमा हामी तलमाथि गर्दैनौं भन्नुपर्छ’, उनले भने ।

सरकारले भ्रष्टाचारका फाइलहरु खोल्न थालेपछि सिंहदरबारमा गिभ एण्ड टेक हुने गरेको पनि गुरुङले आरोप लगाए । ‘भ्रष्टाचार काण्डका फाइलहरु खोल्दै जाँदा कता कता मलाई लाग्छ– कतै सिंहदरबारभित्र पुगेपछि गिभ एण्ड टेक हुन्छ कि क्या हो । ठूला ठूला प्रेसरहरु आउने गर्दछ । त्यसकारणले गर्दा यसरी चल्दैन’, मन्त्री गुरुङले भने ।

भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानबिन गर्न सके त्यही नै सञ्जीवनी बुटी हुने पनि कानुनमन्त्री गुरुङको भनाइ छ । ‘ठूलो ठूलो भ्रष्टाचारका काण्डहरु एक पछि अर्को फाइलहरु खोलेर निष्पक्ष ढंगबाट पूर्ण रुपमा अन्तसम्म पुग्ने गरी पाइला चाल्न सक्यौं भने त्यहीबाट हामीले सञ्जीवनी प्राप्त गर्छौं’, उनी भन्छन्, ‘तर त्यहीँनेर (भ्रष्टाचारको फाइल खोलेपछि) ठेस लाग्ने गरेको छ । म गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्