३ आश्विन २०८१, बिहीबार
समाचार समाज

वसन्तपुरमा इन्द्रजात्राको उल्लास

११ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको दिन बिहीबार बसन्तपुरमा भव्य मेला लागेको छ ।

इन्द्रजात्राको मुख्य दिन बिहीबार हनुमाढोका दरबार क्षेत्रस्थित बसन्तपुरबाट तल्लो टोलमा रथयात्रा चलाइदैछ । रथयात्राअघि विशिष्ट व्यक्ति र हजारौं सर्वसाधारणले जात्राको अवलोकन गरेका छन् ।

हनुमानढोकाको गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधले इन्द्रजात्रा अवलोकन गरेका थिए ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्