३१ भाद्र २०८१, सोमबार
अर्थ समाज

५० करोडसम्मको विदेशी लगानी स्वीकृति अब स्वचालित प्रणालीबाट

१७ असोज, काठमाडौं । नेपालमा स्वचालित प्रणाली (अटोमेटेड रुट) बाट विदेशी लगानी स्वीकृत गर्ने बाटो खुलेको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ४२ अनुसार सरकारले सहज तरिकाबाट विदेशी लगानी भित्र्याउन गरेको व्यवस्था कार्यन्वयन गर्ने सम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै मंगलबारदेखि यो व्यवस्था कार्यन्वयनमा आएको उद्योग विभागले जनाएको छ ।

तर, यसका लागि आवश्यक इन्टरनेटमा आधारित पूर्वाधार निर्माण भने परीक्षणकै क्रममा रहेकाले यो व्यवस्था कार्यन्वयनमा आउन अझै केही समय लाग्नेछ ।

राजपत्रमा सूचना प्रकाशित भएसँगै मानिस संलग्नताविना नै द्रूत गतिमा विदेशी लगानी स्वीकृत गर्ने प्रक्रिया अघि बढेको उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले बताए । ‘अब ५० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित रुपमा स्वीकृत गर्ने बाटो कानूनले खोलिदिएको छ,’ महानिर्देशक गौतमले अनलाइनखबरसँग भने, ‘अब संसारको जुन कुनै देशबाट अनलाइनबाटै आवेदन गरेर अटोमेटिक रुपमा नेपालमा लगानी स्वीकृतिको आवेदन र स्वीकृत गर्न पाइनेछ ।’

अनलाइनमा आधारित एकद्वार प्रणालीबाट लगानीको निवेदन गरेपछि अटोमेटिक रुपमा स्वतः लगानी स्वीकृत हुने प्रली नै अटोमेटेड रुट भएको विभागले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रममा परेको उक्त कार्यक्रम राजपत्रमा प्रकाशित भएपछि अब छिट्टै यससम्बन्धी प्रणाली परीक्षण गरिने र लगानीकर्ताका लागि खुला गरिने तयारी विभागले गरेको छ ।

कानुनले तोकेअनुसार नेपालमा विदेशी लगानी गर्न पाइने क्षेत्रमा अधिकतम् ५० करोडसम्मको वैदेशिक लगानी अटोमेटेड रुटबाट भित्र्याउन पाइने विभागले जनाएको छ ।

नेपालमा लगानीमा ७ क्षेत्रमा कुन कुन क्षेत्रमा यसरी लगानी भित्र्याउन पाइने भन्ने पनि विभागले सूचनामै छुट्याएरै तोकिदिएको छ । स्वचालित रुटबाट लगानी भित्र्याउँदा सूचना प्रविधिमा आधारित उद्योगको हकमा भने लगानीको न्यूनतम् सीमा लागु नहुने विभागले प्रष्ट्याएको छ । झण्डै डेढ वर्षदेखिको तयारीपछि विभागले यो प्रणाली कार्यन्वयनमा ल्याएको जनाएको छ ।

यो प्रणाली सुरुआतकर्ता यसअघिका विभागका महानिर्देशक रामचन्द्र तिवारीले यो प्रणाली कार्यन्वयनपछि अब विदेशी लगानी स्वीकृतिको कार्यमा कर्मचारीको भूमिका नहरने बताए ।

प्रतिक्रिया दिनुहोस्