४ आश्विन २०८१, शुक्रबार
समाज

२९ असोजभित्र महासमिति सदस्य चयन गर्न कांग्रेसको निर्देशन

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ ।

१४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ सम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने विधानको व्यवस्था छ । निर्वाचन समितिका अनुसार ४५ जिल्लाको महासमिति प्रतिनिधि छनोट पूर्ण रुपमा भइसकेका छन् । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अधिकांशमा प्रतिनिधि छनोट भइसकेका छन् । दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामध्येमा केहीमा कुनै क्षेत्रमा छनोट भइसकेको छ भने कतिपयमा बाँकी छ ।

निर्वाचन समितिका अनुसार कोशीमा मोरङ, सुनसरी, झापाका केही क्षेत्रमा प्रतिनिधि छनोट हुन सकेका छैन । साथै, भोजपुर, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा प्रतिनिधि छनोट हुने क्रममा छन् ।

मधेशमा पर्साका सबै क्षेत्रमा प्रतिनिधि चयन हुन बाँकी छ । धनुषामा चारमध्ये दुई क्षेत्रबाट महासमिति प्रतिनिधि हुन सकेका छैनन् । महोत्तरीको ३ क्षेत्र र सर्लाहीको २ क्षेत्रमा महासमिति सदस्यको छनोट भएको छैन ।

बागमतीमा रसुवा, नुवाकोट, काभ्रे र भक्तपुरले प्रतिनिधि चयन गरिसकेका छन् । गण्डकीमा पर्वत, म्याङ्दी, बागलुङ, लमजुङबाट प्रतिनिधि छनोट हुन बाँकी छ ।

लुम्बिनीमा पश्चिम नवलपरासी, गुल्मी, रुपन्देही, रुकुम पूर्व, प्युठान बाँकेबाट प्रतिनिधि छनोट भइसकेका छन् । कर्णालीमा सल्यान र दैलेखबाट प्रतिनिधिको चुनाव गर्न बाँकी छ भने सुदूरपश्चिममा डोटी, कैलाली र कञ्चनपुरका प्रतिनिधिका लागि चुनाव हुन बाँकी छ ।

कांग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्