२२ भाद्र २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

थारु महिला सभाले यसवर्ष पर्यटन बोर्डमा जितिया महोत्सव मनाउने

१७ असोज, काठमाडौं । थारु महिला सभाले यस वर्ष काठमाडौं पर्यटन बोर्डमा राष्ट्रिय जितिया  महोत्सव  मनाउने भएको छ ।

बुधबार  पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै सभाले थारू महिलाहरूको महान पर्व जितियाको अवसरमा असोज २० गते मनाउने र  राष्ट्रिय जितिया पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै थारु महिला सभाकी अध्यक्ष ललिता चौधरीले भृकृटिमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा जितिया महोत्सवको आयोजना हुने बताइन् ।

उनले राजधानीमा बसोबास गर्ने र काम विशेषले घर जान नपाएकी महिला दिदीबहिनीहरुलाई मध्यनजर गर्दै जितिया महोत्सव मनाउन लागिएको बताइन् ।

सरकारले तीजमा सार्वजनिक बिदा दिए पनि थारु महिलाहरुको महान पर्व जितियामा सार्वजनिक विदा नदिएकोप्रति उनले गुनासो पोखिन् ।  तीजमा जसरी नै सार्वजनिक विदा दिनुपर्ने उनले माग गरिन् । तीज र जीतिया एकै प्रकृतिका चाँड भएका कारण सरकारले फरक दृष्टिले हेर्न नहुने उनको भनाइ थियो ।

जितिया महोत्सवमा ब्रतालु महिलाहरुका लागि जित महानको पुजा गर्ने व्यवस्था समेत मिलाएको छ । महोत्सवमा जित महानको कथा बाचन, थारु कला संस्कृति झल्किने नाचगान लगायतका कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

थारु महिलाहरुले आफ्नो सन्तानको दिर्घायुको कामना गर्दै प्रत्येक वर्ष आश्विन शुक्ल कृष्ण पक्ष सप्तमीको दिन लाई, अष्टमीको दिन उपास र नवमीको दिन पारणको रुपमा मनाउने गर्दछ ।

लाईका दिन नुहाएर घिरौलाको पातमा चमकिलो माटो, खैर पिना, घिरौलाको फूल, अगरबती पानी चढाएर पुजा गर्ने चलन छ । त्यही चढाएको माटो र खैरले नुहाएर बिहान चराचुरुङ्गी कराउनु अगाडी नै ओटघन अर्थात दर खाने चलन रहेको छ । उपासको दिन ब्रतालु दिदीबहिनीहरु दिनभरि भोकै बस्छन् । त्यस दिन जितमहानको पुजाआजा, कथा श्रवण र नाचगान गरेर रमाइलो गरिन्छ ।

जितियाको अन्तिम दिन अर्थात पारनको दिन सबेरै उठेर नुहाईधुवाई गरेर गाईको गोबरले आँगन लिपपोत गरेर आँगनको बिचमा माटोले पुनः लिपेर दुईवटा तेलबाट धर्सो तानिन्छ । त्यसमा सिन्दुर लगाइन्छ ।

दुवै छेउमा घिरौलाको पात राखी त्यसमा घिरौलाको फूल, दहीचुरा, बौटरा, अरुवा चामल, तुलसीको पात र सुपारी राखी पुजा गर्ने चलन रहिआएको छ ।

पूजा पश्चात पाँच वटा बौटरा र पाँच वटा अरुवा चामल बिना पानी निलेपछि विधिवत रुपमा जितिया पर्व समापन हुने गर्दछ । यसरी थारु महिलाहरुले आफ्नो सन्तानको दिर्घायुका लागि ३६ घण्टाको कठोर ब्रत बस्ने चलन रहेको छ ।

यस वर्ष  काठमाडौं उपत्यकामा चार ठाउँमा जितिया पर्वको आयोजना गरिएको छ। थारू महिला समाजले ग्वार्कोको आँगन पार्टी प्यालेसमा, थारू महिला सभाले पर्यटन बोर्डको हलमा, थारू सांस्कृतिक मञ्चले कुपण्डोलमा र थारू सेवा समाजले बल्खुमा जितियाको आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्