Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

इजरायलबाट नेपाली विद्यार्थीको प्रश्न : हामीलाई पनि १० जना साथीजस्तै विलिन भएको हेर्न चाहेको हो ?

रातो कागज
2 वर्ष अघि

२४ असोज, काठमाडौं । प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि तनावग्रस्त बनेको इजरायलमा रहेका नेपाली विद्यार्थीले आफूहरूलाई सरकारले समयमै नेपाल फर्काउन पहल नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

हमासले आक्रमण गरेको इजरायलको दक्षिणी क्षेत्रबाट ईजिप्टको सीमाना नजिकै सुरक्षित स्थानमा सारिएका नेपाली विद्यार्थीले सरकारले नेपाल फिर्ता हुनका लागि लगातार आग्रह गर्दा पनि सरकारले ‘बैठक बसेर, निर्णय गर्दैछौँ’ भनेर टारिरहेको भन्दै आक्रोशित भएका हुन् ।

आक्रमण भएको क्षेत्रबाट सुरक्षित स्थानमा सारिएका विद्यार्थीमध्येका एक जना लुईस रिजालले आफूसँगै आएका थाइल्यान्ड र कम्बोडियाका १४-१५ जना विद्यार्थीलाई उनीहरू देशले जहाज ल्याएर उद्धार गरिसकेको, तर आफ्नो भने अझैँ टुंगो नलागेको उनीहरूको गुनासो छ ।

‘मिटिङ बस्दैछौं भनिरहेको चार दिन भइसक्यो । प्राथमिकता केलाई दिने भन्ने नै छैन । मिटिङ त बसेको छ । हाम्रा साथीहरू जुन हामीले गुमायौं, उनीहरूको ज्यानको मूल्य तोक्न बसेको छ’, इजरायलमा उद्धार गरेर सुरक्षित स्थानमा राखिएका रिजालको भनाइ छ ।

रिजालले तेल अबिबस्थित नेपाली दूतावाससँग आफूहरूलाई नेपाल पठाइदिन आग्रह गर्दा ‘कमर्सियल प्लेन चलेको र एयरपोर्ट खुलैछ भन्ने’ जवाफ आएको भन्दै गुनासो व्यक्त गरे ।

‘एम्बेसीलाई फोन गर्दा कमर्सियल प्लेन चलाउन मिल्छ । एयर्पोट सबै खुला छ भन्छन् । त्यसको लागि पैसा चाहिने रहेछ । त्यसको जिम्मा कसले लिने भन्ने कुरा आएको छ । त्यो जिम्मेवारी कसले लिन्छ ?’, रिजाल भन्छन्, ‘हामीले पैसा हाल्नुपर्ने भए सबै जना तयार छौँ । घरबाट पैसा मगाएर हुन्छ कि के हुन्छ हामी सबै तयार छौँ । कि सरकारले पैसा हाल्न सक्दैनौँ भन्नुपर्‍यो हामी आफैँ हाल्छौँ । होइन भने निश्चित सूचना दिनुपर्‍यो ।’

विद्यार्थी भन्छन्, ‘कि सरकारले पैसा हाल्न सक्दैन भन्नुपर्‍यो, कि नेपाल लैजानुपर्‍यो !’ दूतावास भन्छ, ‘फर्किन चाहनेको दर्ता प्रक्रिया जारी छ, हवाईजहाज आउनेबित्तिकै फिर्ता पठाइन्छ ।’

उनले बैठक बसेर निर्णय गर्दैछौँ सुरक्षित भएर बस्नु भनेर आश्वासन मात्रै आएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘हामीलाई सुरक्षित भएर बस, हामी गर्दैछौँ, बैठक बस्दैछौँ भनेर भगवान भरोसामा राखिएको छ । के तपाईंहरूले साँच्चिकै ती दस जना साथीजस्तै यहीँ विलिन भएको हेर्न चाहनुहुन्छ ?,’ उनले भनेका छन्, ‘यदि चाहनुहुन्छ भने हामीलाई पत्रमा लेखिदिनुस्, हामी हाम्रो जोहो आफैं गर्नेछौँ । अरूसँग भिख मागेर भए पनि हामी अगाडि बढछौँ । यदी हामीलाई जिवित देख्न चाहानुहुन्छ भने तुरुन्तै निर्णय गर्नुहोस् ।’

विवराण संकलनको काम भइसक्यो हवाईजहाव पर्खिरहेका छौँ : दूतावास

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले संकटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको विवराण् संकलन कार्य जारी रहेको भन्दै नेपालबाट हवाईजहाज आउनेबित्तिकै फिर्ताको काम सुरु हुने बताएको छ ।

दूतावासका फस्र्ट सेक्रेटरी अर्जुन घिमिरेले अनलाइखबरसँग भने, ‘हाम्रा धेरै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिसकेका छौँ । नेपाल फर्किन चाहानेहरूको विवरण पनि अनलाइनमार्फत संकलन गर्ने काम जारी छ । अब मुख्य कुरा हवाईजहाज हो । हवाईजहाज आउने बित्तिकै नेपाल फर्किन चाहनेलाई फिर्ता पठाउने काम सुरु हुन्छ ।’

उनले सुरुका दिनमा अलनाइन विवरण भरेर नेपाल फर्किन चाहेका कतिपयले इजरायलकै अन्य स्थानमा बस्न चाहेको देखिएको भन्दै उनीहरूको निर्णयमा पनि भर पर्ने बताए । ‘यहाँ रहेका करिब चार सय जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेका छन् ।

उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु भइसकेको छ’, उनले भने, ‘तर हिजोसम्म तुरुन्तै नेपाल फर्किन्छौँ भन्नेहरू पनि केहीले आज मनस्थिति बदलेको पनि पाइएको छ । उहाँहरूसँग सल्लाह गरेर हामी प्रक्रियामा समाहित गर्छौँ ।’

घिमिरेले मृत्यु भएका दस जना नेपाली विद्यार्थीको शव फिर्ताको लागि पनि कानुनी प्रक्रियामा रहेको बताए । ‘मृतकको शव फिर्ता पठाउने कुरा सजिलो हुँदैन । यहाँ फरेन्सिक जाँच गर्नेदेखि क्षतिपूर्तीलगायतका विषय पनि छन्’, उनले भने, ‘विद्यार्थीलाई हवाईजहाज आउनेबित्तिकै फिर्ता पठाउन सकिने अवस्था भए पनि मृतकको हकमा भने केही समय लाग्ने देखिन्छ । कम्ति दुईचार दिन ढिलो हुनसक्छ । हामी सबै प्रक्रियामा लागिरहेका छौँ ।’

उनले गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका र उत्तरी सिमानामा रहेका सबै नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया