‘पब्जी गेममा जस्तै प्यारासुटबाट आतंकवादी आए र गोली चलाए’
२६ असोज, काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २:४० बजे काठमाडौं आइपुगेका छन् । उनीहरुमध्ये धेरैले इजरायल-हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रामपुर क्याम्पस चितवनका विद्यार्थी रिजवान शाहीले आतंकवादी आउँदा नेपाली नेपाली साथीहरुले ‘वीर आर नेपाल, वी आर नेपाली (हामी नेपाली हौं)’ भनिरहे पनि गोली चलाएको बताए ।
रिजवान शाहीका अनुसार रामपुर क्याम्पस ११४ जना इजरायल गएका थिए । साउथ पार्टमा रहेको मेन्किह्वावमा बसिरहेका थिए उनीहरू ।
उनी भन्छन्, ‘हाम्रोतिर धेरै जटिल परिस्थिति थिएन ।तर, मेरो एकदम क्लोज साथी राजेशकुमार स्वर्णकार, गणेश नेपालीलगायत १० जनाको मृत्यु भयो । त्यसले एकदमै धेरै मानसिक तनाव दियो ।’
गोली र बारूदका बीच बंकरमा भएका साथीहरूसँग कुरा भइरहने उनले बताए । ‘बंकरमा भएका साथीहरुसँग फोनमा कुरा भइराख्थ्यो । कतिपय अवस्थामा नेटवर्क हुन्थेन । फोन गरेर दिन वित्थ्यो जहिल्यै पनि ।’ उनले भने ।
सुदूर पश्चिमका साथीहरू हताहती भएको खबरले स्तब्ध बनाएको र अतालिएको उनले बताए । ‘जब सुदूरपश्चिम विश्वविद्यालयका साथीहरूको बारेमो नराम्रो खबर सुनियो अनि हामी पनि आत्तियौं,’ उनले भने, ‘अलिकति सुरक्षित स्थानमा छौं भनिएकाले मन हलुका हुन्थ्यो, तर युद्ध त युद्ध हो । त्यसको आवाजले नै तर्साउने रहेछ।’
आफूहरू बसेको क्षेत्र ‘न्यूक्लियर प्लान्ट’ भएको क्षेत्र भएकाले त्यहाँ सुरक्षित रहेपनि त्रासको जीवन बाचेको उनले बताए ।
‘म बसेको क्षेत्र इजरायलमा ‘न्यूक्लियर प्लान्ट’ भएको क्षेत्र थियो । त्यसैले त्यहाँ हत्तपत्त आक्रमण् हुने थिएन । किनभने, त्यहाँ आक्रमण भयो भने इजरायलको ९० प्रशित क्षेत्र ध्वस्त हुन्थ्यो । त्यसैले यो क्षेत्र तुलनात्मक रुपमा सुरक्षित हो ।तर, मनमा त्रास भइरहन्थ्यो की हाम्रा कति साथी कहाँ छन् भनेर । ‘ उनले भने ।
उनले हमासी विद्रोहीहरू पबजी गेममा जस्तो प्यारासुटबाट झरेर आक्रमण गरेको बताए । ‘तपाईंले पब्जी गेम हेर्नु भएको होला नि, तलबाट आक्रमण गर्ने आइरहेका हुन्छन् । त्यहीँबाट प्यरासुट लिएर आउनेहरु पनि हुन्छन् । इजरायलमा पनि त्यस्तै भयो, प्यारासुटबाट झरेर आक्रमण गरे ।’ उनले भने ।
आफूले पपजीमा देखेको घटना ठीक आँखै अगाडी देख्दा निक्कै डर लागेको उनले बताए । साथै उनीहरूले फार्महरू पनि नष्ट गरेर गाउँलेमाथि निशाना साध्दा हामी पनि डराएको उनको भनाइ छ ।
‘गेममा देखेको थिएँ, ठ्याक्कै त्यस्तै घटना आँखै अगाडि भयो । सुरुमा आतंकवादीहरु बोर्डर फोडेर छिरेको थियो ।’उनले भने, ‘त्यसरी छिरेर आउनहरुलाई रोक्न मिलिटरी व्यस्त भएका बेला प्यारासुटबाट आतंकवादीहरु छिरे । उनीहरुले गाउँलाई टार्गेट गरे । फार्महरु पनि लगभग सबै डिस्ट्रोय गरेका छन् ।’
आफूहरूले हामी नेपाली हौ भनेर पटक पटक हात उठाएर भनिरहँदा पनि उनीहरूले नसुनेको बताए । ‘मलाई लाग्छ, उनीहरुले मुख्य निशाना बनाएका इजरायलीलाई नै हो । तर, हाम्रा साथीहरु पनि गाउँमा बस्नु भएकाले निशानामा पर्नुभयो । उनीहरुले पटकपटक हात उठाएर ‘वी आर नेपाली, वीर आर नेपाली’ भन्दा पनि उनीहरुले सुनेनन् ।’
सरकारले उद्दार गरेकोमा खुशी लागेको उनले बताए ।तर आफूहरूले त्यो त्रासदी र बबण्डर जीन्दगीभर नभुल्ने उनले बताए। ‘सरकराले उद्दार गरेर ल्यायो, एकदम राम्रो लागेको छ । तीन चार दिनदेखि लगातार दबाब पनि दिइरहेका थियौं । सुरुमा केही पनि पहल नभएजस्तो महसुस भइरहेको थियो । तर, नेपालका साथीभाइ सबैले धेरै सहयोग गर्नुभयो । त्यसका लागि जिन्दगीभर आभार हुने छौं ।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्