‘मदन पुरस्कारले अद्भुत देउरालीमा पुगेको आभास भयो’
…जब ‘ऐँठन’ले मदन पुरस्कार पाएको खबर पाएँ। नजिकै बसेकी श्रीमतीलाई सुनाएँ, नातिसँग खेलिरहनु भएकी मेरी आमालाई सुनाएँ। तुरुन्तै भिडियो कल गरेँ, मेरो भाइ राजीवलाई सुनाएँ। भाइ खबर सुनेर रोयो। आमा रूनुभो र पुष्पा रोइन्। थाहै नपाई ती आँशुले मेरा आँशुलाई समेत जागृत गराए। र, बुवालाई खबर सुनाउन सकिनँ, उहाँ त झनै पो भावुक हुनुहुन्छ।
पक्कै पनि ती सामान्य आँशु थिएनन्। यस्तो लाग्यो- वर्षौँसम्म पर्खिएर खस्नका लागि पालो कुरिरहेका आँशु हुन्। कुनै कुनै आँशु गहमा आफ्नो पालो कुरेर बसिरहेका हुँदा रहेछन् ।
स्कूल नचिन्दै बुवासँगका लोककथा रित्तिए। अझ तरकारी, खेत, हलो-कुटो र अँगेनाका समेत गन्तव्यहीन संवाद बुवाले सुनाउन पर्यो। सुत्नुअघि कथा सुन्ने बानी जो थियो। मलाई कताकता लाग्छ- तिनै नाम-बेनाम कथाहरूले ममा आख्यानको बीज रोपेका थिए।
स्कूल पढ्दै गर्दा ठूलो दाइको सिको गर्दै रहरै रहरमा लेखनको बामे शुरू भयो। र, त्यो यात्रा खतरनाक नशामा परिणत भैसकेको रहेछ। यस अर्थमा खतरनाक नशा कि, मैले ऊर्जामय उमेरको उच्चतम समयमा समेत पारिवारिक जिम्मेवारीबाट भागेँ, अभाव स्वीकार्य साथी मान्न रुचाएँ। समाजको आर्थिक प्रश्नहरूसँग लुक्नु परिरह्यो। ठिक नशामा फसेको मानिस जस्तो। त्यस्तो प्रतिकुल समयमा जो धैर्यता, साहस र प्रेम मेरी श्रीमतीले देखाइन्, त्यसप्रति म नतमस्तक छु। निःशब्द हुन पुग्छु।
नढाँटी भन्नुपर्छ, पछिल्लो समय मलाई आफ्नै रहर भनुँ कि नशासँग डर लाग्न थालेको थियो। कहीँकतै दूर हराएँ कि भन्ने शङ्का लाग्न थालेको थियो। तर, आज लाग्दैछ म हराएको रै’नछु। सुन्दर गन्तव्यलाई साक्षी राखेर हिडिरहँदा कहीँ न कहीँ अनपेक्षित तर सुन्दर चोक र घुम्तीहरू भेटिँदा रहेछन्।
आज मदन पुरस्कार जस्तो गरिमामय पुरस्कारबाट ‘ऐँठन’ सम्मानित भैरहँदा अद्भुत खुसी मिलेको छ। कुनै अद्भुत देउरालीमा पुगेको आभास भएको छ। फेरि थप हिँड्ने हौसला र प्रेरणा मिलेको छ।
जब पुस्तक मबाट पाठकतर्फ हिँड्यो, ममा एक किसिमको बेचैनी थियो। पात्र र कथाको ह्याङ मबाट निस्किएको थिएन। यसबीच मेरा प्रकाशक मणि दाइले मलाई हौसला दिइरहनु भयो, त्यसका लागि म आभारी छु, कृतज्ञ छु। पुस्तक प्रवर्द्धन र प्रकाशनका लागि साङ्ग्रिला परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
धन्यवाद प्रिय पाठकलाई, जसले अतुलनीय प्रतिक्रिया दिइरहनु भएको छ, आगामी यात्राको कामना गरिरहनु भएको छ। म पाठकको मायाले धन्य भएको छु। अझ मस्तै मस्तै धन्य हुन चाहन्छु।
‘मिथ’, मानिस, स्रोत र चेतना
मानिसको चेतना ‘स्वीच’ थिच्ने बित्तिकै झट्टै बलेको थिएन। उचित-अनुचित मगजमा झुल्किन मानिसले लाखौँ वर्ष खर्चिएको छ। जीवन-मृत्युको चेत एवम् पर्याप्त दर्शनशास्त्रका खातिर मानिसले खर्चिएको समय वास्तवमै मूल्यवान छ। र, बितेका लाखौँ वर्षको अनुभवले मानिस निकै परिपक्व बनेको छ। उसमा पर्याप्त ज्ञान छ, जसले धर्तीलाई हामीले कल्पना गर्ने स्वर्ग बनाउने सामर्थ्य राख्छ। फेरि पनि किन आधा धर्तीलाई अँध्यारो र अभावले अँठ्याएको छ ? यसको कारण हो धर्तीमा हरेक स्रोत र शक्तिको सीमितता। …
जो मानिस स्रोत र शक्तिको समीप छ, जसमा ज्ञानविज्ञान एवम् दर्शन र विचार उन्नत छ, उनीहरूबाटै धर्तीको शक्ति र स्रोत कैद छ। यदि उनीहरूले कैद गरेको स्रोत फुकाउने हो र उनीहरूको ज्ञान विश्वको उन्नतिका लागि नैतिक रूपमा एकाकार गराएर समर्पण गर्ने हो भने बाँकी रहेको अँध्यारो धर्ती उज्यालिन समय लाग्ने छैन।
मेरो लेखनी लाखौँ वर्षको यो उपलब्धिलाई समग्र संसारमा लागू गर्नुपर्छ भन्ने मान्यतामा आधारित हो। मेरो उद्देश्य हजारौँ वर्ष लामो सामाजिक बसाइका ‘बावजूद’ खड्किरहेका समस्यालाई उठान गर्नु नै हो। त्यही जगमा उभिएर नै मैले मेरो पहिलो आख्यान ‘ऐलानी’ र यो दोस्रो आख्यान ‘ऐँठन’ लेख्ने कोसिस गरेको हुँ।
जो हाम्रा ‘मिथ’ छन्, ती रगतले लत्पतिएका छन्। धर्ती टुक्य्राउँदै जति पनि सिमाना कोरिएका छन्, त्यसमा करङको पिलर र रगतको रेखा छ। अनि, ती कोरिएका रेखाभित्र पनि रगतको होली खेल्दै पाइला चालेको छ- समय रेखाले। यी तमाम कुरा देखेर हामीले त निकै उन्नत पाठ सिकिसक्नु पर्थ्यो। अझ नेपालले भोगेको जो सशस्त्र युद्ध थियो, त्यतिन्जेल त हामीले अझ धेरै, अरूको भन्दा थप पाठ सिकिसक्नु पर्ने थियो। तर, विडम्बना! यहाँ हजारौँ मानिसले समय रेखामा आफ्नो रगत चुहाउनु पर्यो। आफ्नो सास गुमाउनु पर्यो। लाखौँले उजाडिनु पर्यो।
नेपालमा युद्ध शुरू हुँदासम्म धर्तीमा अधिकांश खानदानी शासकले आफ्नो अस्तित्व गुमाइसकेका थिए। कोही शासक देश निकाला त कोही काटिनु परेको थियो। ती तमाम ज्ञान नेपालका शासकलाई थिएन? जरूर थियो। तर, उनीहरूले आफूसँगको स्रोत र शक्ति गुमाउन चाहेनन्, बाँड्न चाहेनन् र देशको अँध्यारोले त्यो शक्ति अन्ततः निल्यो।
जुन शासकले समयको मागलाई सम्बोधन गर्न सक्तैन, त्यो अन्ततः समाप्त हुन्छ। त्यसो भए हामीले भोगेको सशस्त्र युद्ध के निर्विकल्प थियो? चारसय इसापूर्वको ‘मोहिजम’को धारणदेखि प्रभावकारी शान्तिपूर्वक दर्जनौँ आन्दोलन धर्तीमा भए।
हाम्रै छिमेकी मुलुकमा गान्धीजीको नेतृत्वमा ‘भारत छोडो’ आन्दोलन भयो। हामीले नै गरेको २०४६ को आन्दोलनले केही हदसम्म राम्रै प्रभाव पार्यो। तमाम शान्तिपूर्वक आन्दोलनलाई इङ्गित गर्दै हजारौँको मरणको निर्विकल्पतामाथि समाजमा बहस भइरहन्छ। खैर … जो भयो र जस्तो भयो त्यो बितेर गैसक्यो। समाजले नयाँ पाठ पल्टाइसक्यो। हामी जुन मूल्य चुकाएर आयौँ, त्यसले न्याय पाउनुपर्छ। अब पनि समाजलाई जडताको दाम्लोमा बाँधिरहने छुट कसैलाई छैन। अब पनि सीमित व्यक्तिले शक्ति र स्रोतको दोहन गरिरहने छुट छैन।
आदर्श, लेखन र पुस्तकबारे
समाजले मेरो बालमस्तिष्कमा खुबै आदर्श थोपर्यो। अझ मानिसले आफ्नो सर्वोच्चताबारे गरेका दाबी मलाई अद्भुत लाग्थे। तर, ममा सधैँ मानिसका दाबीउपर शङ्का रहिरहन्थ्यो। किनकि, म पढ्दै गरेको समय स्कूल शान्तिक्षेत्र र देश सशस्त्र युद्धको चुलीमा थियो। विद्रोही पक्षले शिक्षकका गला रेटेको समाचार सुन्नु पर्थ्यो।
कैयौँ निर्दोष मानिसलाई राज्यले बेपत्ता पारेका र हत्या गरेका खबर सुनिन्थ्यो। राज्यपक्षकै रक्षकहरूको भूमिका समेत भक्षकको थियो। त्यो समय मभित्र हतियारप्रतिको डर भरिंदै थियो। अचेल पनि कतै टायर पड्किँदा झट्ट गोली चलेको ख्यालले दिमागलाई छोएर जान्छ। मलाई लाग्छ- त्यो समयको त्रासले डगमगाएका हरेकको स्थिति यस्तै होला। युद्ध त सकियो तर त्यसको त्रासदी त्यति सजिलै सकिँदो रहेनछ।
बिस्तारै थाहा पाउँदै गएँ, मानिसले गरेका नरसंहारहरू, जिउँदो शहरमाथि आणविक बमबार। म झनै मानिसले गरेको उसको सर्वोच्चतामाथिको दाबीमा सहमत हुन सकिनँ। मलाई लाग्यो, मानिस खास उसले भनेको जस्तो सुन्दर छैन। ऊ त निकै हिंस्रक छ। हामी शान्तिको कामना गर्छौं तर बर्सेनि २० खर्ब डलर सैन्य मामिलामा खर्च गर्छौँ। अर्कोतर्फ बर्सेनि लाखौँ मानिस भोकमरीका कारण मरिरहेका छन्। हाम्रो कामना र यात्रामा विरोधाभास छ।
केही शक्तिशाली देशले कागजको टुक्रामा भनेकै भरमा आणविक भट्टी खोल्न पाइन्छ। कसैमाथि बन्देज लगाउन पाइन्छ। के उनीहरू संसारभरका हतियार नष्ट गर्ने कागजमा हस्ताक्षर गर्न सक्तैनन्? उनीहरूको गतिविधिमा विचलन छ। अझ हामीले मान्दै आएका ‘मिथ’ नै रगतमा चोबलिएका छन्, हामीले भगवान्को हातमा समेत हतियार भिराएका छौँ, सबै सबै क्रियामाथि मेरो प्रश्न छ।
निर्दोष मानिसको कोणबाट जुन कथा भन्ने मैले कोशिश गरेँ, त्यसमा ‘मिथ’, दोस्रो विश्वयुद्ध र हामीले भोगेको ‘गृहयुद्ध’को अनुहार छ। विशेषः हामीले भोगेको ‘गृहयुद्ध’को प्रधान पात्र नै प्रतिनिधि अनुहार हो। जो कुनै ‘मिथ’ र विश्वयुद्धको पनि प्रताडित अनुहारको बिम्ब हो।
तीनथरी रङको युद्धलाई एकआपसमा गाभ्न स्वैरकल्पनाको प्रयोग गरेको छु। मेरो स्वैरकल्पना हाम्रो पूर्वीय ग्रन्थको कल्पनाको प्रभाव वा ल्याटिन अमेरिकाबाट विस्तारित ‘म्याजिकल रियालिजम’को प्रभाव, पाठक र विश्लेषकको आफ्नै व्याख्या सुनिरहेको छु। तर मलाई शङ्का छ- लोककथाको उडान र पूर्वीय ग्रन्थको जादुयी प्रभाव हो कि भन्ने।
युद्ध उप्रान्तको सन्नाटा मौनता होइन। त्यसले हजारौँ प्रश्न जपिरहेको हुन्छ। प्रत्येक आँशु र रगतको थोपाले न्यायको तराजु मागिरहेको हुन्छ। महाभारत, विश्वयुद्ध लगायत तमाम युद्ध जस्तै ‘ऐँठन’को मूल पात्र बबनकुमारले न्यायको तराजु मागिरहेको छ।
तत्कालीन समयमा भएका युद्ध अपराध, जो राज्यपक्ष र विद्रोकी पक्षबाट भए– तिनीहरूमाथि न्यायको कुनै सङ्केत नदेखेर बबनकुमार अश्वत्थामा समान हृदयभरि आलो घाउ बोकेर धर्तीको फन्को लगाइरहेछ। कोही उसको हृदयमा मल्हम लगाइदेओ। कोही सुनिदेऊ उसको क्रन्दन, ऊ धर्तीबाट हतियारको विनाश मागिरहेको छ, विश्व शान्ति र सुन्दर जीवनको कामना गरिरहेको छ। र, म मेरा पात्रको कामनासँगै मेरा कामना एकाकार गर्न चाहन्छु। धन्यवाद।
२०७९ सालको मदन पुरस्कार प्राप्त कृति ‘ऐँठन’का लेखक विवेक ओझाले पुरस्कारण वितरण समारोहमा राखेको मन्तव्य ।
प्रतिक्रिया दिनुहोस्