४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरू

३० असोज, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।

‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली भएको उहाँको भनाइ थियो ।

मुलुकमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको बाटो समात्न ढिला भएको भन्दै उनले सङ्क्रमणकाल लामो समयसम्म रहँदा आर्थिक समृद्धिका विषय ओझेलमा परेको बताए । प्रशासनिक पुनःसंरचना भए पनि शासकीय शैली अझै पनि परिवर्तन नसकेको उनको भनाइ छ ।

‘नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन, पूर्वाधार, सूचना तथा सञ्चार क्षेत्रमा लगानीको ठूलो सम्भावना छ’, राष्ट्रपति पौडेलले भने, हाम्रो छिमेकमा ठूलो बजार छ । नेपालमा लगानीको अपार सम्भावनाको उपयोग गर्नुहोस ।’

आर्थिक विकास लागि आवश्यक पूर्वाधार बनाउन बहुपक्षीय साझेदारीसहित विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलको भनाइ छ ।

नेपालको अर्थतन्त्रमा ‘रेमिट्यान्स’ले महत्वपूर्ण भूमिका खेलेको र भुक्तानी सन्तुलन कायम गर्न सहयोगी भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।

‘नेपालको आन्तरिक क्षमतामा विकास गर्न सकेमा मात्र विदेशमा नेपालीले सम्मान पाउने अवस्था रहन्छ’, उनले भने, ‘नेपाल समृद्ध नभएसम्म विदेशमा नेपाली शिर उचो हुन सक्दैन । विदेशमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्नु सबैको कर्तव्य हो।’

नेपालमा लगानी गर्न सहज बनाउन नीतिगत तथा कानुनी तर्जुमा गर्न सरकार तयार रहेको नेपाल प्रकृति र संस्कृतिको अनुपम रहेको उल्लेख गर्नुहुँदै विदेशिएका नेपालीका आफ्ना सन्ततिको भाषा संस्कृति भुल्ने हुँदा नयाँ पुस्तालाई समय–समयमा नेपाल ल्याउन उनले आग्रह गरे ।

सो अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीलाई आग्रह गरे । ‘नेपालमा लगानीका लागि स्रोतको अभाव छ’, उनले भने, ‘नेपालमा लगानी गर्दा तपाइँहरुलाई सरकारले सहुलियत उपलब्ध गराउनेछ ।’ उहाँले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक नागरिकता दिइने पनि उहाँको भनाइ छ ।

नेपाली वस्तु सेवाको विश्व बजारमा पहुँच स्थापित गर्न सरकार हातेमालो गर्न चाहेको उल्लेख गर्दै उहाँले ज्ञान हस्तान्तरण, युवा परिचालन र महिला सशक्तिकरणका लागि ‘डायस्पोरा’ सशक्त रुपमा अघि बढ्न आवश्यक रहेको बताए । विदेशमा रहने प्रत्येक नेपालीहरु नेपालका लागि अवैतनिक राजदूतका रूपमा रहने परराष्ट्रमन्त्री साउदले उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई नेपालका आयोजनामा लगानी गर्न आग्रह गरे । ‘नेपालमा लगानी गर्न पुराना र जटिल खालका नीतिगत र कानुनी संरचना छन् भने त्यसलाई परिमार्जन गरौँ । सम्भावनाको खोजी गरौँ र नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाऔँ’, उनले भने ।

संयुक्त राष्ट्रसङ्घका नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले नेपालको स्थानीय अर्थतन्त्र निर्माणमा रेमिट्यान्सको ठूलो भूमिका रहेको र नेपालको विकास आवश्यकता पूरा गर्न गैरआवासीय नेपालीलाई स्वदेशमा थप लगानी गर्न सुझाव दिए ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालको आर्थिक विकास र समृद्धिका लागि देशभित्रकै नागरिक जुटेमात्र विदेशबाट पनि सहयोग र समर्थन मिल्ने धारणा राखे । ‘मुलुक बनाउनका लागि सङ्कल्पको कमी छ । हामीसँग पर्याप्त क्षमता हुँदाहुँदै हामीले त्यसको प्रयोग नेपालमा गर्न चुकेका छौँ । जबसम्म देश बनाउन नागरिक आफैँ जुट्दैनन् तबसम्म मुलुक समृद्ध हुँदैन’, महतोले भने ।

कार्यकारी अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका नेपालीका केही समस्या रहेको उल्लेख गर्दै सरकारको समन्वयमा त्यस्ता समस्या समाधान गर्न सकिने बताए । उनले श्रम सम्झौता नभएको मुलुक इराकमा ३० हजारको सङ्ख्यामा नेपाली नागरिक काम गरिरहेको, अवैध बाटोबाट कुवेतमा महिला कामदार गइरहेको उल्लेख गरे ।

विगतका वर्षमा नेपालमा लागानी गर्नका लागि कानुनी व्यवधान रहेकामा अहिले सहज हुँदै गएको उनको भनाइ थियो । अहिले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको कम्पनी स्थापना भएकामा यसले विदेशमा रहेका नेपालीबाट ठूलो लगानी भित्रिने अपेक्षा गरे ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसिसी) का अध्यक्ष रविना थापाले विदेशमा रहेका नेपालीलाई स्वदेशसँग जोड्न अघिकतम पहलको आवश्यकता रहेको बताए । एनआरएनएका अध्यक्ष कुल आचार्यले सरकारले गैरआवासीय नेपाली नागरिकता र सामाजिक सुरक्षा कोषको व्यवस्था गरेकामा धन्यवादज्ञापन गर्दै मताधिकारको सुनिश्चितताका लागि पनि आग्रह गरे ।

संसारभर छरिएर रहेका नेपाली विकासका सच्चा साझेदार बन्न सक्ने औँल्याउनु हुँदै अध्यक्ष आचार्यले नेपालको माटो बेचेर विदेशमा सम्पत्ति नजोड्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्