३ कार्तिक २०८१, शनिबार
राजनीति

कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छः महामन्त्री थापा

२ कात्तिक,काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् ।

बिहीवार नेपाल प्रेस युनियन काठमाडौंले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘निर्वाचन अगाडी गठबन्धन नगर्ने । उत्तम बाटो भनेको जसले चलाउने हो, जसको नेतृत्वमा चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने । कांग्रेसले जति समय चलाउँछ, एक, दुई वर्ष जति हामीले पाउँछौँ हामी जोसँग मिलेर गर्छौ । जुन कालखण्ड चलाउँछौँ एक्लै हामी चलाउनुपर्छ । २५ जना मन्त्री काँग्रेसको राखेर चलाउनुपर्छ ।’

उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताए । उनले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताए ।

उनले भने, ‘०८४ सालमा हामी चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौँ । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ । क्लियर कुरा गरेको छ । यसमा कहीँ अलमल छैन । हामी एक्लै जान्छौँ ।’

उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने बताए । उनले कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गरे ।

‘अहिले प्रधानमन्त्रीले के भन्नुहुन्छ बेला बेलामा राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको । आर्थिक संकट भयो काँग्रेसको मन्त्री छ गर्नै सकेन, उनले भने, ‘भ्रष्टाचारको बारेमा मैले त राम्रो काम गर्न खोजेको थिएँ, तर फलानोले, मन्त्रीहरुले समाचार लेखाइरहेका छन् बेलाबेलामा । मैले त असाध्यै राम्रो काम गर्न खोजेको थिएँ तर कांग्रेसको कारणले गर्दा दिएन ।’

उनले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताए । महामन्त्री थापाले निर्वाचन पूर्वकाँग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो । उनले आगामी निर्वाचनमा काँग्रेस गठबन्धन गरेर गएमा काँग्रेस पार्टी एक नरहने बताए ।

उनले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताए । उनले निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रुपमा गलत रहेको उल्लेख गर्दै काँग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने बताए ।

उनले भने, ‘नेपालमा निर्वाचन भन्दा अगाडी गर्ने गठबन्धनले प्रकारान्तरमा त्यसले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ, जसको कारणले गर्दाखेरी हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो, त्यो बोक्नै सक्दैन । यसले तल जरासम्म पुर्‍याउँछ । त्यसकारणले गर्दाखेरी निर्वाचन भन्दा अगाडी गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले गलत छ ।’

महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएमा नेपाली काँग्रेसले नमान्ने बताए । उनले काँग्रेसले फागुन १ गतेलाई कुनैपनि दिवसको रुपमा स्वीकार नगर्ने प्रष्ट पारे ।

उनले भने, ‘यो सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भनेर भन्यो भने के नेपाली कांग्रेस पार्टी यसलाई हामी गठबन्धनमा छौँ त्यसकारणले गर्दा हामी यसलाई मान्छौँ भनेर यसलाई स्वीकार गर्नसक्छौँ ? सक्दैनौँ । किनभने यो हाम्रो सैद्धान्तिक विषय हुन्छ । हामी फागुन १ गतेलाई दिवसको रुपमा मान्दैनौँ ।’

महामन्त्री थापाले नेपाली काँग्रेसलाई रुपान्तरण गर्नुपर्ने भन्दै यसको निम्ति सबै पार्टी कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्