४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

दशैंको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही

१० कात्तिक, दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ ।

दमौलीबाट काठमाडौं जाने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ ।

दमौलीबाट काठमाडौं छुट्ने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरुको भाडा फिर्ता गराइएको छ ।

दमौलीबाट काठमाडौंसम्मको भाडा रु छ सय ५० रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले रु एक हजारसम्म लिने गरेको गुनासो आएको छ । विष्टले भने, ‘दशैंको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैं चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।’

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौँ जाने यात्रुहरुबाट रु एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्