३ आश्विन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार

टिकटक प्रतिबन्धबारे कलाकार भन्छन् : प्लाटफर्ममा रोक हैन, कन्टेन्ट नियमन गरौं

२८ कात्तिक, काठमाडौं । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयप्रति सेलिव्रिटीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले यो भिडियो एपमाथि प्रतिबन्ध लगाउनुभन्दा नियमन गर्नु र कन्टेन्टको अराजकतालाई रोक्नु जरुरी रहेको समेत बताए ।

फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले टिकटक बन्द गर्नुभन्दा यसको खराब पक्षलाई बन्द गर्नु जरुरी रहेको बताए ।

‘यो अभिव्यक्ति स्वतन्त्रताको सवाल हो । आमाबुवा पनि भिडियो बनाउने र मायाप्रेम साट्ने गर्नुहुन्छ । मान्छे क्रिएटिभ भएका छन् । खराबी कम गर्नुपर्छ, बन्द होइन’ गिरीले अनलाइनखबरसँग भने ।

उनले भने- टिकटकमा विकृति मिसिएर आयो । लाइभमा अवाञ्छित गतिविधि भएको पनि भनिन्छ । हामीले प्रयोग गर्न जानेनौं होला । एक किसिमले नराम्रो पनि भयो । नियमन गर्नु जरुरी छ ।’

टिकटक प्लाटफर्मबाट एकाएक चर्चामा आएकी प्रिज्मा खतिवडाले पनि प्लाटफर्म नै बन्द गर्ने सरकारी निर्णयप्रति असहमति जनाइन् । ‘सामाजिक सद्भावमा असर पुगेको हो भने यसमा नियमन हुनुपर्थ्यो । उच्छृंखल भिडियोमा नियन्त्रण हुनुपथ्र्यो । तर, प्लाटफर्म नै रोक्नु गलत हो’ उनले भनिन् ।

प्रिज्मा र प्रिन्सीले टिकटकबाट व्यवसायिक उत्पादनको बजारीकरण गर्दै आएका थिए । उनीहरुका लागि आयस्रोतको राम्रो माध्यम समेत बनेको थियो । अन्य केही सेलिव्रिटीले पनि टिकटकलाई ब्राण्ड इन्डोर्स गर्ने माध्यम बनाएका थिए ।

अभिनेता सलोन बस्नेतले पनि टिकटकमा रोक लगाउने सरकारी निर्णयको विरोध गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्- सहि हो सरकार, अपराधी समात्न सक्दैनौ, पोर्न ब्याण्ड गर । योग्यता बराबर रोजगार दिन सक्दैनौ । सयौंको घर चलाउने टिकटक ब्याण्ड गर । नियम होइन ज्ञान बाँड्ने पो होकि ।’

कोरियोग्राफर रामजी लामिछानेले टिकटक बन्द हुँदा यसले गीत संगीतलाई प्रत्यक्षरुपमा असर गर्ने टिप्पणी गरेका छन् । फिल्म लेखक प्रदीप भारद्धाज लेख्छन्– टिकटक होइन, जनताको आवाज उठाउने सार्वजनिक मञ्च बन्द गर्ने निर्णय भएको हो ।’

फिल्म अभिनेता आसिफ शाहले पनि टिकटक बन्द गर्ने निर्णयको विरोध गरेका छन् । उनी लेख्छन्- टिकटक बन्द गर्ने निर्णय गलत छ । हाम्रो सरकारले जहिले पनि निर्णय लिने मामलामा फितलो प्रदर्शन गर्छ र तीव्र आलोचना आइसकेपछि सच्चिन्छ । सामाजिक सञ्जालको दुरुपयोग भएको होला तर त्यसको बिकल्प प्लाटफर्म नै बन्द गर्नु कदापी हैन ।

प्रतिक्रिया दिनुहोस्