२३ भाद्र २०८१, आईतवार
समाचार समाज

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैंडा

१ मंसिर, चितवन । तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् । स्रोतका अनुसार गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए ।

तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलकाे माटाे टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो याेजना बनाएर गैंडा मार्न सफल भएको बताए ।

 

गैंडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो । गैंडालाई धरापमा पार्न खाल्डो खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नपाउनु निकुञ्ज प्रशासनको लापरवाही भएको एक संरक्षण अधिकृतले बताए ।

सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्