२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

गैँडा मारेको घटना छानबिन गर्न समिति गठन

२ मंसिर, चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानबिन गर्न समिति गठन गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत छन् ।

उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताए । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उनको भनाइ छ । आवश्यक प्रमाण सङ्कलन गरी भएका कमी-कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ ।

राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति गठन गरिएको हो । गत बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए । छ वर्षको गैँडा तीन दिन र १८ वर्षको गैँडा मारिएको १० दिन पछि फेला पारिएको अनुमान गरिएको छ ।

उक्त घटना सार्वजनिक भएसँगै सत्यतथ्य छानबिनको माग गरिएको थियो । नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गरी घटनाको छानबिन गर्न माग गरेको थियो । संरक्षण क्षेत्रमा लागेका व्यक्तिले पनि चिन्ता व्यक्त गर्दै छानबिनको माग गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा र नेपालभर सात सय ५२ गैँडा छन् ।

प्रतिक्रिया दिनुहोस्