५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

५ मंसिर, भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् ।

बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार मगरले बताए । मल, बीउबिजनभन्दा ठूलो समस्या बाँदर बनेको उनको भनाइ छ ।

‘हामी किसानको मुख्य समस्या नै बाँदर बनेको छ’, उनले भने, ‘बाँदर प्रभावित क्षेत्रमा मल बीउभन्दा ठूलो समस्या यही हो । एक घण्टामात्र बाँदर बालीमा पस्यो भने वर्षभरि खाने अन्न सखाप पार्छ । त्यही भएर जमिन बाँझो छाड्नु हाम्रो बाध्यता बनेको छ ।’

पछिल्लो समयमा बाँदर अटेरी बन्दै गएपछि धपाउन झन् समस्या भएको बोखिमका किसान गङ्गा प्रधानले बताउनुभयो । बाँदरको उप्रदोका कारण खेतबारीमा लगाएको बाली समय नै नपुगी उठाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

“बाँदरले खेतबारी अन्न पाक्न दिँदैन”, उहाँले भन्नुभयो, “जो–कोहीले बारीमा आएका बाँदर धपाउन सकिने अवस्था छैन । सदादिन युवाले हेरचाह गरेर पनि सम्भव छैन । वृद्धवृद्धा, महिला तथा केटाकेटीलाई बाँदरले टेर्दैन । बाँदरको डरले अन्नबालीलाई समय नपुग्दै उठाउनुपर्ने अवस्था छ ।”

बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ ।

बाँदरले बस्तीमा पसेर दु:ख दिन थालेपछि बस्ती नै खाली हुने अवस्था आएको स्थानीय टेकबहादुर तामाङले बताउनुभयो । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । बाँदरका कारण ग्रामीण क्षेत्रमा बसाइँसराइको दर बढेको उनले जानकारी दिए ।

‘बाँदरका कारण बस्ती नै खाली हुने अवस्था छ’, स्थानीय तामाङले भने, ‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन । बाँदरको हेरचाह गर्नुभन्दा खेतबारी बाँझो छाडेर बस्ती छाड्ने बढेका छन् ।’

बाँदर मकैको थाङ्ग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । बाँदर हेरचाह गर्नका लागि दुईदेखि तीनजनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ ।

बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाड्को भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले बताए ।

‘बाँदरमा अटेरीपना बढेको छ । बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पनि नभाग्ने अवस्था छ’, उनले भने, ‘बाँदर हुललाई बस्तीबाट धपाउनै मुस्किल छ । वर्ष दिन खाने अन्नबाली छिनभरमा उजाड पार्छ । यही अवस्था रहे किसानले खेती गरेर खाने अवस्था छैन ।’

अधिकांश किसानको मुख्य समस्यारूपमा रहेको बाँदर आतङ्क नियन्त्रणमा राज्यले उचित विकल्पको खोजी गर्नुपर्ने किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्