भूकम्प प्रभावितलाई भारतको चौथो चरणको राहत
५ मंसिर, काठमाडौं । भारतले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री हस्तान्तरण गरेको छ ।
आज मंगलबार नेपाल आइपुगेका यी राहत सामग्री मंगलबार नै नेपाल सरकारलाई हस्तान्तरण गरियो । नेपाल चिकित्सक संघको माग अनुरुप यी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् ।
जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।
छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको भारतीय दूतावासले जनाएको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने दूतावासको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्