३ कार्तिक २०८१, शनिबार
राजनीति

परराष्ट्रमन्त्री साउदसँग कतारका विदेश राज्यमन्त्रीको भेट

८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले भेट गरेका छन् ।

नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन् ।

मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

विद्रोही हमासले रिहाइ गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाई गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन् ।

साथै, परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाईका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रसंसा गरे ।

यसअघि बिहीवार मन्त्री साउदले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

भेटका क्रममा उनीहरुबीच रोजगारी, ब्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्