४ कार्तिक २०८१, आईतवार
राजनीति

रिगललाई तत्काल पक्राउ गरेर थुनामा राख्न अदालतको आदेश, प्रहरी भन्छ : खोज्दैछौं

१६ कात्तिक, काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद माफी गर्ने निर्णय बदर भएको छ ।

न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

अदालतले उनलाई तत्काल थुनामा पठाउन समेत उत्प्रेषणको आदेश दिएको छ ।

अदालतको आदेशसँगै प्रहरीले ढकाललाई ‘तत्काल पक्राउ गरेर बुझाउने’ बताएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले अनलाइनखबरसँग भने, ‘अदालतको आदेशसँगै प्रहरीले उनको खोजी गर्छ र तत्काल पक्राउ गरेर कारागारमा बुझाउँछ ।’

बुधबारसम्म उनलाई निगरानी राख्ने ठाउँ नभएको बताउँदै उनले भने, ‘प्रहरीले उनको खोजी गर्दैछ ।’

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्