३ आश्विन २०८१, बिहीबार
समाचार समाज

संघीय सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने

२० कात्तिक, काठमाडौं । संघीय सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने भएको छ ।

भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न प्रतिनिधि सभाका सदस्यहरुको एक टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने तय भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नेतृत्वको टोलीमा ९ सदस्य रहने छन् । सभामुख देवराज घिमिरेले सभापति रामहरि खतिवडालाई भूकम्पपीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिएका थिए ।

सभामुखको निर्देशनलगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र पश्चिम रुकुमको स्थलगत अनुगमनमा जाने निर्णय गरेका हुन् । सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिई अनुगमनमा जान निर्देशन दिएका छन् ।

‘संसदको नियमित अधिवेशनसमेत अन्त्य भएको अवस्था छ, जनताको आवाज संसदमा पुग्ने अवस्था छैन,’ उनको सचिवालयका अनुसार राज्य व्यवस्था समिति सभापति सभामुख घिमिरेले खतिवडालाई निर्देशन दिँदै भनेका छन्, ‘सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुूनी शासनको स्थापना लगायत विभिन्न गतिविधिहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिने कार्यक्षेत्र भएका नाताले तपाईंहरु प्रभावित क्षेत्रमा जानुहोला ।’

समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने बताएका छन् । उनका अनुसार अनुगमन टोलीमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत छन् ।

सभापति खतिवडाले जहाज तथा यातायात खर्च व्यक्तिगत तवरबाटै गर्ने बताएका छन् । उनले सानो र छरितो टिम आफ्नै खर्चमा अनुगमनमा जाने निर्णय लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्