३ आश्विन २०८१, बिहीबार
राजनीति समाचार समाज

राष्ट्रपति चढेको हेलिकप्टरबाट भूकम्पका घाइतेलाई काठमाडौं ल्याइयो

२१ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौंडेलले चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेको उद्धार गरिएको छ ।

राष्ट्रपति सवार हेलिकोप्टरले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि सुर्खेतबाट सँगै काठमाडौं ल्याइएको हो ।

राष्ट्रपति पौडेल रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौं फर्किएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेटेका थिए । बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनाका साथै उनले बिरामीको गुनासोसमेत सुनेका थिए ।

सितलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइने जानकारी गराउँदै राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनः निर्माण गरिने तर अहिले बाँचेकाहरूको अस्थायी बसोबासको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी भेरी–३स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गरेका राष्ट्रति पौडेलले पहिले आफू उक्त ठाउँमा आएर बसेको स्मरण गर्दै तत्काल यहाँ पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताए ।

ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत उनले अवलोकन गरे ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् ।

भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्