३ आश्विन २०८१, बिहीबार
समाचार समाज

नवराज विकको हत्या मुद्दामा अन्तिम सुनुवाइ सुरु

१७ मंसिर, काठमाडौं । नवराज विकसहित ६ जनाको हत्यासम्बन्धी मुद्दामा करिब साढे तीन वर्षपछि जिल्ला अदालत रुकुम पश्चिममा सुनुवाइ सुरु भएको छ ।

आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँग रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु गरी ६ जना केटी पक्षका आफन्त र गाउँलेको कुटाइबाट मारिएका थिए । अरु १२ जना घाइते भएका थिए ।

उक्त मुद्दामा आइतबारदेखि जिल्ला अदालत, रुकुम पश्चिमका न्यायाधीश खड्गबहादुर केसीको इजलासमा सुनुवाइ सुरु हुँदा मृतकका आफन्त र अधिकारकर्मीले अदालत परिसरमा धर्ना दिएका छन् ।

आइतबार सरकारी वकिल एवं मृतक पक्षका कानुन व्यवसायीले बहस गरेका अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए । मृतकको पक्षबाट बहस सकिएपछि आरोपित पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।

‘दुवै पक्षका कानुन व्यवसायीहरुको वकालतनामा हेर्दा थप केहीदिन सुनुवाइ होला जस्तो देखिन्छ । त्यसपछि मात्रै फैसला आउला’, उनले भने ।

नवराज विकसहित मृतकको तर्फबाट बहस गर्न काठमाडौंबाट पनि कानुन व्यवसायीहरु पुगेका छन् । आइतबार साँझ साढे ६ बजेसम्म इजलासमा बहस भएको थियो । सरकारी वकिलहरुले पनि बहस गर्न बाँकी छ ।

१० जेठ, २०७७ मा जाजरकोटको भेरी गाँउपालिका–४, रानागाँउका २१ वर्षका नवराज विक आफ्ना साथीहरु लिएर प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाँउमा पुगेका थिए ।

त्यही क्रममा सोतीगाँउमा प्रेमिकाका परिवारका सदस्य र आफन्तहरुले नवराजको समूहमाथि आक्रमण गरेका थिए । केहीको शव भेरी किनारमा फेला परेको थियो ।

नवराज विकले अरु १८ जना साथी लिएर प्रेमिकाको गाउँ पुगेकामा उनीसहित ६ जनाको हत्या भएको थियो भेन १२ जना घाइते भएका थिए ।

मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपाली थिए ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको समयमा घटना भएको थियो । उक्त घटनाको दलित अगुवा एवं अधिकारकर्मीहरुको टोलीले स्थलगत अध्ययन गरेको थियो । स्थलगत प्रतिवेदन अनुसार, सोतीगाँउका बासिन्दाले घेरा हालेर घरेलु हतियारले आक्रमण गरेका थिए ।

प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले घटनामा संलग्न भएको आरोपमा ३२ जना वयस्क र २ नाबालक गरी ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

जन्मकैदको साजाय माग

जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको आरोपपत्र अनुसार, ३४ जना आरोपीमध्ये ३१ जना प्रत्यक्ष संलग्न थिए भने अरु ३ जना षड्यन्त्रमा समेल भए ।

चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न भएको प्रहरी अनुसन्धानले देखाएको थियो ।

प्रहरीले नवराज विककी प्रेमिका भनिएकी किशोरी, उनकी आमा र किशोरीका ठूलोबाबु इन्द्रबहादुर मल्ललाई घटनाको षडयन्त्रमा सामेल भएको आरोप लगाएको थियो । इन्द्रबहादुर भने रुकुममा नभई जाजरकोटाको खलंगामा बस्थे । उनीबाहेक मुद्दा लागेका सबै चौरजहारी–८ स्थित सोतीगाउँका बासिन्दा हुन् ।

घाइते तथा मृतकको आफन्तको बयान अनुसार, त्यो दिन नवराजले भगाउन खोजेकी युवतीको घर नजिकै पुग्नेबित्तिकै ढुंगामुढा सुरु भएको थियो ।

लखेटेर हत्या गरिएका उनीहरुको शव भेरी नदीमा फालिएको आरोपपत्रमा उल्लेख छ । आरोपितलाई क्रुरतापूर्वक ज्यान मारेको अभियोग लगाइएको छ । त्यस्तै १२ जना घाइते भएकाले आरोपितमाथि ‘ज्यान मार्ने प्रयास गरेको’ आरोप पनि लगाएको थियो ।

आरोपपत्रमा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको आरोप छ । उनीहरुमाथि जातीय भेदभाव तथा छुवाछुत गरेको आरोप पनि छ । आरोपितमाथि जन्मकैदको सजाय हुनुपर्ने मागदावी छ ।

प्रतिक्रिया दिनुहोस्