भ्रष्टाचार नियन्त्रण गर्न महिलालाई नेतृत्वमा पुर्याउनुपर्छ : मन्त्री आचार्य
![](https://www.ratokagaj.com/wp-content/uploads/2023/12/Surendra-Acharya.jpg)
२३ मंसिर, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि महिलालाई नेतृत्वमा पुर्याउनुपर्ने धारणा राखेका छन् ।
महिलाहरु नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम भएको भन्दै उनले महिलालाई मुलुकको नेतृत्वको पु¥याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने बताए ।
नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री आचार्यले महिलाहरुले पनि आफ्नो क्षमताको विकासमा ध्यान दिनुपर्ने टिप्पणी गरे ।
‘जुनसुकै स्थानीय तहमा महिलाको नेतृत्व छ भने त्यहाँ भ्रष्टाचार कम छ । त्यसैले गर्दा महिलालाई थप अधिकार दिने कुरामा हामी गम्भीर हुनैपर्छ र, महिला दिदीबहिनीहरुले पनि अधिकार माग्ने भन्दा पनि आफ्नो क्षमतामा अभिवृद्धि गर्दै जानुपर्छ’, उनले भने ।
मन्त्री आचार्यले महिलामाथि हुने विभेदको अन्त्य महिला मन्त्रालय एक्लैको प्रयासबाट सम्भव नहुने पनि बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले महिला पत्रकारको क्षमता अभिवृद्धि र संगठनमा समान सहभागिताका लागि आफू निरन्तर लागिरहेको बताए ।
यस्तै युनियनका सल्लाहाकार अनिता बिन्दुले महिलाको समान सहभागिता बनाउन सरकारले छुट्टै नीति नै बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
प्रेस युनियनकी उपाध्यक्ष एवं महिला विभाग प्रमुख सलोजा दाहालले महिलाको समान सहभागिता बोलीमा एउटा र व्यवहारमा अर्कै भइरहेको गुनासो गरिन् । घरदेखि अफिससम्म नै समान व्यवहार कायम हुनुपर्ने उनले बताइन् ।
उनले भनिन्, ‘महिला सहभागिता समान बनाउन घरदेखि अफिससम्म नै समान रुपमा व्यवहारमा आउनु जरूरी छ । बोलीमा एउटा र व्यवहामा अर्कै छ।’
कार्यक्रममा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, प्रेस युनियनका पुर्व अध्यक्ष रमेश तुफानलगायतले महिलाको समान सहभागिता हुनु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्