४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

१४ किलो सुन प्रकरणको छानबिन गर्न बनेको समितिको म्याद थपियो

२९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको छानबिनका लागि गठित समितिको म्याद एक साताका लागि थप भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले छानबिनका लागि गठन गरेको प्रमुख भन्सार अधिकृत मनिराम पौडेल नेतृत्वको समितिको म्याद ७ दिन थप गरिएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले अनलाइनखबरलाई बताए ।

‘समितिले थप काम गर्नुपर्ने देखिएकाले म्याद थप गरिएको छ’, उनले भने । २१ मंसिरको राति विमानस्थलमा फ्लाई दुबईबाट आएका एक व्यक्तिको साथबाट १४ किलो सुन बरामद भएको थियो । ती व्यक्तिले बयानका क्रममा विमानस्थलभित्र शौचालयमा लुकाउने जिम्मेवारी आफूले पाएको बताएका थिए ।

छानबिनका क्रममा समितिले तीन जना सरसफाइ कर्मचारीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा शेरबहादुर बस्नेत, सुशीला पाण्डे र गणेश चेपाङ छन् । जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको पाण्डेले बताए ।

छानबिन समितिमा प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य छन् । १४ किलो सुन बरामद भएको भोलिपल्टै प्रहरीले विमानस्थलको भन्सार जाँच पास गरेको साढे ६ किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्