३ आश्विन २०८१, बिहीबार
समाचार समाज

पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन संसदीय समितिको निर्देशन

१२ पुस, काठमाडौं । पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन सरकारलाई संसदीय समितिले निर्देश गरेको छ ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव, पशुपति क्षेव बिकास कोषका सदस्य सचिव र कोषाध्यक्षसँग छलफल गरेपछि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देश गरेको हो ।

‘पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शवदाह गृहको संख्यामा बढोत्तरी गर्न आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने’ बिहबार बसेको समिति बैठकको निर्णय छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रको उपयुक्त समयमा स्थलगत अनुगमन गर्ने पनि समितिको निर्णय छ ।

यसैगरी, समितिले पशुपति क्षेत्र विकास कोषले आनन्द होटल प्रालिसँग गरेको सम्झौताको विवरण सहितको विस्तृत जानकारी समितिलाई ३ (तीन) दिनभित्र उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोषलाई निर्देश गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान पनि समितिले निर्देश गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकीन र हालसाविक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस्