३ आश्विन २०८१, बिहीबार
खेलकुद समाचार समाज

एनएसएल उपाधिका लागि धनगढी र ललितपुर भिडन्त

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ को उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स यसअघि नै एलिमिनेटरमा ललितपुरसँग पराजित हुँदै बाहिरिएपछि एनएसएलले नयाँ विजेता पाउने पक्का भएको हो ।

पहिलो संस्करण फाइनल पुगेपनि पराजित भएको धनगढी एफसी लगातार दोस्रोपटक फाइनल खेल्दैछ र उसलाई फाइनलको अनुभव थाहा छ । ललितपुर भने पहिलोपटक फाइनल पुगेको हो र उसका लागि यो नयाँ अनुभव हुनेछ ।

यसपटक रमाइलो संयोग के रह्यो भने धनगढी र ललितपुर दुवैले एउटै टिम पोखरा थण्डर्सलाई हराएर फाइनल पुगेका हुन् । फ्रेन्चाइज लिगहरुमा लिग चरणको खेलपछि प्लेअफका खेलहरु हुने भएकोले शीर्ष दुईमा रहने टिमले फाइदा पाउँछन् ।

लिगमा पोखरा शीर्ष स्थानमा थियो भने धनगढी दोस्रो तथा ललितपुर चौथोमा थियो । पहिलो क्वालिफायर पोखरा र धनगढीबीच भयो । धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा हराएर फाइनल पुग्यो । त्यसपछि ललितपुरले एलिमिनेटरमा काठमाडौंलाई पराजित गर्‍यो । तर, ललितपुरले फेरि अर्को खेल खेल्नुपर्‍यो । त्यो खेल पोखरासँग थियो । पोखरालाई २-१ ले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढीसँग उपाधि भेट पक्का गरेको हो ।

लिगमा शीर्ष स्थानमा रहेर दुई पटक अवसर पाउँदा पनि पोखरा भने फाइनल पुग्न सकेन ।

तथ्याङ्कमा धनगढी र ललितपुर कस्तो छ ?

  • यो खेल यसपल्टको ४०औं र समग्रमा ६५औं खेल हुनेछ ।
  • यो प्रतियोगिताको इतिहासमा दोस्रो फाइनल मात्रै हो । धनगढी लगातार दोस्रोपल्ट फाइनल खेल्दैछ । ललितपुरका लागि भने यो पहिलो फाइनल अनुभव हुनेछ । वर्ष ०७८ को फाइनलमा काठमाडौं रेजर्सले धनगढीलाई १-० ले हराएको थियो ।
  • धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई टाइब्रेकरमा ४-३ ले हराएको थियो । त्यस अगाडिको १२० मिनेटको खेल २-२ को बराबरीमा रहेको थियो । लिग चरणमा धनगढी दोस्रो स्थानमा रहेको थियो ।
  • ललितपुरले भने प्ले–अफमा दुई खेल खेलेको थियो । लिग चरणमा चौथो स्थानमा रहेपछि ललितपुरले इलिमिनेटरमा काठमाडौंलाई ३-० ले हराएको थियो भने दोस्रो क्वालिफायरमा पोखरालाई २-१ ले पराजित गरेको थियो ।
  • धनगढीका प्रशिक्षक युगलकिशोर राई दोस्रो पल्ट फाइनलको अनुभव बटुल्दै छन् । उनकै नेतृत्वमा धनगढीले पछिल्लो सिजन पनि खेलेको थियो । ललितपुरका प्रशिक्षक इयान एन्ड्र्यु गिलानका लागि यो पहिलो फाइनल अनुभव हुनेछ । उनी आफ्नो टिमलाई एनएसएलको फाइनल पुर्‍याउने पहिलो विदेशी प्रशिक्षक हुन् ।
  • धनगढी र ललितपुरबीच अहिलेसम्म दुई खेल भएका छन् । दुवै खेल बराबरीमा टुंगेको छ । वर्ष ०७८ मा भएको पहिलो खेल १-१ को बराबरीमा टुंगेको थियो । त्यसमा धनगढीले ओलावाले आफिजको गोलले ७२औं मिनेटमा अग्रता लिएको थियो । ललितपुरका लागि रञ्जन विष्टले ७८औं मिनेटमा बराबरी गोल फर्काए ।
  • यसपल्टको लिग चरणको खेलमा भने धनगढी र ललितपुरले गोलरहित बराबरी खेलेका थिए ।
  • लिग चरणका आठ खेलसमेत गरेर धनगढीले यसपल्ट नौ खेल खेलेको छ । त्यसमा चार जित, चार बराबरी र एक हार रहेका छन् । समग्रमा धनगढीले १७ खेल खेलेको छ । त्यसमा आठ जित, पाँच बराबरी र चार हार रहेका छन् ।
  • ललितपुरले यसपल्ट १० खेल खेलेकोमा त्यसमा चार जित, चार बराबरी र दुई हार छन् । ललितपुर प्रतियोगिता काठमाडौंसँगै समग्रमा सबैभन्दा बढी खेल खेलेको टिम हो । उसले अहिलेसम्म १८ खेल खेलेको छ र फाइनल उसको १९औं खेल हुनेछ । अहिलेसम्मका तीन खेलमा सात जित, सात बराबरी र चार हार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्