३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सम्पत्ति शुद्धीकरणको आरोपमा दुई जना दोषी ठहर

१६ पुस, काठमाडौं । विशेष अदालतले अबैध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा प्रमोद कुमार जयसवाललाई ८ वर्ष कैद र ८३ करोड रुपैंया जरिवाना हुने फैसला गरेको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले जयसवाललाई सोमबार कसुर निर्धारण गरेको हो । विशेष अदालतले उनलाई गत ४ पुसमा दोषी ठहर गरेको थियो ।

जयसवाललाई ४१ करोड ५१ लाख रुपैंया विगो र त्यसको दोब्बरले हुन आउने रकम ८३ करोड ३ लाख जरिवाना सुनाएको, प्रवक्ता धन बहादुर कार्कीले बताए । त्यही घटनामा मुछिएका पप्पु ठाकुरलाई पाँच वर्ष कैद सजाय तोकिएको छ । पप्पुलाई ३ करोड ६७ लाख विगो र दोब्बर ७ करोड ३४ लाख रुपैंया जरिवाना हुने फैसला भएको छ ।

आलु र प्याज खरिद गरेको नक्कली कारोवार देखाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ बैशाख २०७७ मा दुई बाणिज्य बैंकका कर्मचारी सहित ५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

उनीहरुमाथि ४१ करोठ ५१ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको अभियोग थियो । विभागले नेपाल एसबीआई बैंक पर्सा रामपुर शाखाकी तत्कालिन शाखा प्रवन्धकविभा चौधरी, त्यही बैंकको विरगञ्ज शाखाका प्रमुख जीवनबाबु सुवेदी लगायत ५ जनामाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको थियो ।

उनीहरुको साथै भारतीय नागरिक प्रमोदकुमार जयसवाल, पप्पु ठाकुर र श्रीलाल रौनियार विरुद्ध पनि मुद्दा दायर गरेको थियो । अनुन्धानका दायरामा परेका १० जना बैंकका कर्मचारीलाई विभागिय कारवाही गरिएको थियो । विशेष अदालतले जयसवाल र ठाकुर बाहेक सबैलाई सफाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस्