४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

तीन महिनादेखि लागेको ताला फोर्ने मध्यपश्चिम विश्वविद्यालयको चेतावनी

१६ पुस, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय कार्यालयमा गत १२ असोजमा प्राध्यापकहरुले लगाएको ताला दुई दिनभित्र खोल्न अल्टिमेटम दिएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रजातान्त्रिक प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संघ र एकीकृत प्रगतिशील प्राध्यापक संघले सम्बन्धन तथा थप कार्यक्रम दिन नहुने लगायतको माग राखेर ताला लगाएका थिए ।

तीन महिनादेखि ताला लगाइदा दैनिक प्रशासनिक कामकाज ठप्पमा भएको र विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा समेत आँच पुगेको भन्दै विश्वविद्यालयले अबको दुई दिनभित्र ताला खोलिदिन अपिल गरेको छ ।

विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै प्राध्यापक संघसंगठन तथा विद्यार्थी संघसंगठनसँग विश्वविद्यालयको उच्च स्तरीय वार्ता समितिले १४ औं पटक औपचारिक तथा अनौपचारिक वार्ता तथा संवाद गर्दा पनि निर्णयमा पुग्न नसकेको जनाएको छ ।

तालाबन्दीको कारण शैक्षिक तथा प्रशासनिक कामहरु ठप्प भएको र विश्वविद्यालयको आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासिक बजेट निकासा हुन नपाएको विश्वविद्यालयले जनाएको छ ।

जसले गर्दा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक र कर्मचारीहरुको तलब भत्ता लगायत सञ्चालन खर्च निकासा तथा भुक्तानीमा समेत अवरोध भएको भन्दै बुधबारसम्म ताला खोली सहयोग गर्न अपिल गरेको छ ।

रजिष्ट्रार प्रा.डा.नारायणप्रसाद पौडेलले विज्ञप्ति जारी गरी दुई दिनभित्र ताला नखोले विश्वविद्यालयका सम्पूर्ण पदाधिकारीहरुको निर्णय बमोजिम विश्वविद्यालयले प्रशासन तथा सुरक्षा निकायको समन्वयमा ताला तोडी कार्यालय सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

विश्वविद्यालयप्रति विद्यार्थी, प्राध्यापक तथा अभिभावकहरुको विश्वास कायम राख्न विश्वविद्यालय प्रशासन जिम्मेवार रहेको र तालाबन्दी गर्ने प्राध्यापक संघ संगठनहरु र विद्यार्थी संघ संगठनहरु समेत उत्तिकै जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘उल्लिखित समयभित्र ताला नखोले विश्वविद्यालयका सम्पूर्ण पदाधिकारीहरुको निर्णय बमोजिम विश्वविद्यालयले प्रशासन तथा सुरक्षा निकायको समन्वयमा ताला तोडी कार्यालय सुचारु गर्न बाध्य हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्