४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

शेखर कोइरालाको टिप्पणी : विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको टिप्पणी गरेका छन् ।

कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन धरापमा परेको भन्नेहरु नै अहिले राष्ट्रिय सभा निर्वाचनमा मिल्न थालेको कोइरालाको भनाइ छ ।

राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग पनि सिट बाँडफाँटको तयारी भइरहेका बेला कांग्रेस नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्- ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको मनोनयन दर्ताको दिन नजिकिंदै गर्दा सत्ता गठबन्धनका दलहरु सिट बाँडफाँटको गृहकार्यमा छन् ।

२० फागुनमा कार्यकाल सकिन लागेका २० सदस्यहरुमध्ये राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् । कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यही पुस २३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

राष्ट्रिय सभामा नेकपा एमालेले पनि भाग खोजेपछि सत्ता गठबन्धनभित्र कति सिट दिने भन्ने छलफल जारी छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई शून्य नबनाउन भनेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराएका थिए ।

एमालेलाई राष्ट्रिय सभामा सिट छुट्याउन सत्ता गठबन्धन सकारात्मक देखिए पनि कति सिट दिने भन्ने टुंगो लागिसकेको छैन । सिट बाँडफाँटको टुंगो बिहीबारको गठबन्धन बैठकले लगाउने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्