३ आश्विन २०८१, बिहीबार
अर्थ समाचार समाज

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा पानी

२० पुस, भरतपुर (चितवन) । चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो ।

लिफ्टका चारबाट पम्प फेरेपछि हिउँदमा पनि पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणालीका इन्जिनियर कुलप्रसाद चालिसेले जानकारी दिए । उनले दुई हजार लिटर प्रतिसेकेन्ड पानी तान्ने सानो पम्प सञ्चालन गरिएको जानकारी दिए ।

नयाँ पम्प फेरेपछि हिउँदमा पनि पानी पठाउन सकिन्छ भनेर परीक्षणका रुपमा पानी नहरमा पानी पठाउन थालिएको उनले बताए । नारायणी लिफ्ट सिँचाइमा चार नयाँ मेसिन छन् ।

चार घनमिटरका दुई र दुई घनमिटरका दुई छन् । पम्पबाट प्रतिसेकेन्ड दुई हजार लिटर र अर्कोबाट प्रतिसेकेन्ड चार हजार लिटर पानी तान्ने उनले बताए ।

भरतपुर-१ स्थित नारायणी नदी नजिकै रहेको नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्प हाउसमा रहेका ४० वर्ष पुराना चार पम्प यस वर्ष फेरिएको हो । पुराना र जीर्ण अवस्थाका पम्पले पानी तान्न समस्या भएपछि यसलाई आधुनिकीकरण गर्न रु २६ करोड ३२ लाख ४३ हजार एक सय ५१ खर्च गरिएको छ ।

किसानको मागअनुसार, गहुँ बालीलाई लक्षित गर्दै नारायणी लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको उनले बताए । ‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट, यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्छ ।

यसले करिब दुई हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने इन्जिनियर चालिसेको भनाइ छ । बर्खामा साउन २ गतेदेखि चार महिना सिचाइँका लागि नारायणी लिफ्टबाट पानी छाडिएको थियो ।

विसं २०६९ पछि हिउँदमा यस वर्ष पहिलोपटक नारायणी लिफ्टको पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले बताए । ‘मेसिनले नधानेपछि नियमित गर्न छाड्यौँ’, उनले भने, ‘नयाँ मेसिन जडान गरेपछि यो पटक गहुँ बालीका लागि भनेर नहर छाडेका छौँ ।’

नारायणी लिफ्टको मुहान पोखरा बसपार्क नजिक छ । त्यहाँ नदीको सतह कम हुँदा पानी तान्न मेसिनलाई समास्या हुने गरेको उनले बताए । नारायणी लिफ्ट आयोजनाका काम २०३५ सालमा सुरु भएर २०४० सालबाट चालु रहेको हो ।

बिचको अवधिमा २०४९ सालमा मेसिन बिग्रिएर रोकिएको थियो । त्यसपछि निरन्तर रुपमा सञ्चालनमा आएको अध्यक्ष रानाभाटले जानकारी दिए । नदीमा पानीको सतह भएसम्म यस वर्षदेखि हिउँदमा पनि पानी छाड्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्