३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

टी-२० विश्वकपमा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डसको समूहमा

२० पुस, काठमाडौं । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् रहेको समूह डीमा परेको छ ।

आज शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले वेष्ट इण्डिजमा विश्वकप खेल्ने छ । टी-२० विश्वकप आउँदो जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुँदै छ ।

भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन् । उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन् । समूह एको खेल अमेरिका हुने छ ।

समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् ।

हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई -दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

यसअघि जुन ४ देखि ३० सम्म हुने भनिएकोमा आईसीसीले मिति हेरफेर गरेको छ । अब टी२० विश्वकप जुन १ देखि २९ सम्म हुनेछ । पहिलो खेल अमेरिका र क्यानडाबीच जुन १ मा डल्लासमा हुनेछ ।

गत कात्तिकमा काठमाडौंमा भएको टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्