३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रियसभा चुनावका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन हुने

२२ पुस, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार (आज) मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोलि (सोमबार) सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको नामावली पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक भएको थियो ।

प्रकाशित नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था थियो । ती सबै प्रक्रिया सकेर पुस २२ गते (आज) अन्तिम मतदाता नामावली प्रकाशित गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ ।

कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

२०७२ को संविधान जारीपछि पहिलोपल्ट ०७४ माघमा राष्ट्रिय सभा गठन भएको थियो । संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तिमा ३ जना महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यकबाट प्रतिनिधित्व हुनेगरी ५६ जना निर्वाचनबाट चुनिएका थिए । एक महिलासहित ३ जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्