४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

कोशीमा एमालेका उम्मेद्ववारले गरे मनोनयन दर्ता

२३ पुस,विराटनगर । राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा नेकपा एमाले उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । एमालेबाट अन्य कोटामा परशुराम अधिकारी र महिला कोटामा रुक्मिणी कोइरालाले मनोनयन दर्ता गरेका हुन् ।

अधिकारीको प्रस्तावक र समर्थक सिर्जना राई र जयप्रकाश चौधरी छन् । कोइरालाको प्रस्तावक समर्थक रामप्रसाद मेहता र शिलादिक्षित कार्की छन् ।

सत्तारुढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र चम्पा कार्कीले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले साइत हेराएर विहान १० बजे मनोनयन दर्ता गरेका हुन् ।

सिटौलापछि माओवादी केन्द्रबाट चम्पा कार्कील मनोनयन दर्ता गरिन् । सिटौलाको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् । कार्कीको समर्थक रामकुमार खत्री र गणेश उप्रेती छन् ।

दुई सिटका लागि हुने निर्वाचनको मतदाता प्रदेश सांसद र पालिका प्रमुख उपप्रमुख हुन् । कोशीमा राष्ट्रिय सभाका लागि ३ सय ६७ जना मतदाता छन् । जसमा ९३ जना प्रदेश सांसद हुन् । प्रतिपक्षी एमाले भन्दा सत्तारुढ गठबन्धन मतभारको हिसाबले बलियो छ ।

गठबन्धन दलसँग ५४३६ मतभार छ । एमाले मात्रैको मतभार ४ हजार २४८ छ । राष्ट्रियसभामा एमाले भन्दा सत्ता गठबन्धन एक हजार १ सय ८८ मतभारले अगाडि छ ।

सत्तारुढ गठबन्धन दल कांग्रेससँग  ३ हजार ६८४, माओवादी केन्द्रसँग १ हजार २७८, नेकपा एकिकृत समाजवादी पार्टीको ३४५, जसपाको १२९  मतभार छ । एमालेको मतभार ४ हजार २४८, राप्रपाको ३९४ मतभार र स्वतन्त्रको ५७  मतभार छ ।

मतभारका हिसाबले गठबन्धन अगाडि रहेका कारण यसअघिको दुई वटा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका सिटौला राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बनेका हुन् । उम्मेद्वारी दर्तापछि उनले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताए ।

‘राष्ट्रिय सभामा पुगेपछि राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो, सिटौलाले भने, मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरुको समझदारी निर्माण गर्न पहल गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्