४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक

२५ पुस, काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ । बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो ।

मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ ।

प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।

सीआईबीका अनुसार बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । उनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी पनि खरिद गरेका थिए ।

५ करोडमा बुक गरेको गाडीका लागि ३ करोड भुक्तानी गरिसकेको खुलेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्