Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तराईमा हुस्सु कुहिरो, उच्च पहाडी क्षेत्रमा वर्षाको सम्भावना

रातो कागज
1 वर्ष अघि

२ माघ, काठमाडौं । आज आंशिकदेखि सामान्य बदली हुने र उच्च पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । तराई मधेशका जिल्लामा भने दिउँसोसम्मै हुस्सु कुहिरो लाग्ने छ ।

हाल नेपालमा पश्चिमी वायु र बंगलादेशको दक्षिणी भूभाग आसपास रहेको न्यून चापीय प्रणाली समेतको आंशिक प्रभाव परेको छ । ‘यो प्रणालीको प्रभाव आज, भोलि र पर्सि तीन दिनसम्म रहने छ । यसले गर्दा उच्च पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ,’ वरिष्ठ मौसमविद मिनकुमार अर्यालले भने ।

उनका अनुसार आज बागमतीको प्रदेशका दोलखा र सिन्धुपाल्चोक तथा कोशी प्रदेशका संखुवासभा र ताप्लेजुङ लगायत जिल्लाका उच्च भूभागमा वर्षाको सम्भावना छ । गण्डकी प्रदेशमा पनि दुई हजारदेखि तीन हजार मिटरभन्दा माथि क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको अर्यालले बताए ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

भोलि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्सि माघ ४ गते कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने प्रक्षेपण महाशाखाले गरेको छ ।

काठमाडौंमा पनि बदली

काठमाडौं उपत्यकामा पनि आज आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बरिष्ठ मौसमविद अर्यालले काठमाडौं उपत्यकामा बादल लागे पनि पानी पर्ने सम्भावना भने एकदमै कम रहेको बताए । ‘अहिलेको प्रणालीमा मोइस्चर धेरै छैन त्यसैले काठमाडौं भ्यालीमा पानी पर्ने सम्भावना एकदमै कम छ । यदि परिहाले पनि फाट्टफुट्ट मात्र होला,’ उनले भने ।

काठमाडौं उपत्यकामा अहिले बिहान हल्का घाम लागे पनि दिउँसो बादल लाग्ने र जाडो महसुस हुने अर्यालले बताए ।

काठमाडौंमा पुस २० गते सबैभन्दा कम न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियससम्म पुगेको थियो । त्यसयता लगातार न्यूनतम तापक्रम बढ्दै गएको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो अधिकतम तापक्रम १७-१८ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

तराई मधेशमा हुस्सु कुहिरो

तराई मधेशमा अहिले बिहान बाक्लो हुस्सु कुहिरो लागेको छ । हुस्सु कुहिरोको कारण पारदर्शिता कम भएकाले गाडीहरु बत्ती बालेर हिँडिरहेका छन् । उडानहरु पनि प्रभावित भएका छन् । हुस्सु कुहिरो आज दिउँसोसम्मै लाग्ने सम्भावना छ ।

दिउँसो १२-१ बजेसम्मै हुस्सु कुहिरो लाग्ने गरेकाले जाडो बढेको महसुस पनि भएको छ । तर विगतमा जस्तो लामो समयसम्म शीतलहरको अवस्था भने अहिले नरहेको मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले यो वर्ष शीतलहर सुरु भएको घोषणा अहिलेसम्म गरिएको छैन ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार शीतलहर घोषणा गर्ने गरी प्रणालीमा बदलाव आएको छैन । उनका अनुसार अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनु, दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु, आकाशबाट तपतप शीत चुहिनु, पारदर्शिता एक किलोमिटरभन्दा कम हुनु लगायतका आधारमा आधारमा शीतलहर चलेको घोषणा गरिन्छ ।

‘यस्तो अवस्था लगातार दुई दिनसम्म भयो भने माइल्ड र तीनदेखि पाँच दिनसम्म भयो भने मोडरेट शीतलहर भन्छौं, तर अहिलेसम्म यस्तो लगातार भएको छैन,’ मौसमविद झाले भने, ‘अहिले बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्ने र घाम लागेसँगै विस्तारै हट्दै गइरहेको अवस्था छ ।’

विगतका वर्षहरुको तुलनामा यस वर्ष धेरै जाडो महसुस पनि भएको छैन । मौसम पूर्वानुमान महाशाखाले पहिल्यै यस वर्षको हिउँदयाम (मंसिर, पुस र माघ महिना) विगतको भन्दा न्यानो हुने भनेर गरेको प्रक्षेपण मेल खाएको छ । तर हिउँदयाममा अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने भनेर गरेको प्रक्षेपण भने मिलेको छैन ।

त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार अहिले नेपाल भित्रिएको पश्चिमी वायु कमजोर खालको छ । यसमा जलवाष्प कम छ । त्यसैले यो प्रणालीले उच्च हिमाली भेगमा पानी पार्ने सम्भावना मध्यम खालको छ । मध्य पहाडमा पानी पर्ने सम्भावना न्यून छ भने तराई मधेशमा भने यसले पानी पार्ने छैन ।

यद्यपि माघ महिना अझै बाँकी छ । त्यसैले जाडो अझै केही दिन कायम रहने सम्भावना छ । यो जाडोको अवधिमा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरु प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया