४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

खाद्य प्रविधि कार्यालय हेटौंडाका प्रमुख कुटिए

७ माघ हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. क्षतिज श्रेष्ठमाथि कुटपिट भएको छ ।

कार्यकक्षमै रहेका बेला श्रेष्ठमाथि आइतबार दिउसो कुटपिट भएको हो । कार्यालय सहयोगी शोभा पोडेका श्रीमान रमेश पोडेले श्रेष्ठमाथि कुटपिट गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । आफूमाथि कार्यकक्षमै कुटपिट भएको भन्दै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. श्रेष्ठले पोडेसहित ४ जनाविरुद्ध जाहेरी दिएका छन् ।

प्रहरीले आरोपित पोडेलाई आइतबार नै पक्राउ गरेको थियो । अरु तीन जना भने फरार रहेका मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ‘उनीहरुलाई पनि खोजिरहेका छौं’, भण्डारीले भने । आरोपित पोडेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत मकवानपुरबाट अनुमति पनि लिएको छ ।

कार्यालय सहयोगी शोभालाई करार सेवाबाट निकालेको घटनाले श्रेष्ठसँग कार्यकक्षमै विवाद भएको थियो । शोभाले आफू खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा विगत १८ वर्षदेखि आफू करार सेवामा काम गर्दै आइरहेको बताइन् । उनीसँगको करार सम्झौता गत असोजमै सकिएको थियो । चाडपर्वका कारण असोजमै निवेदन दिन नभ्याएर कात्तिकमा करार नवीकरणका लागि निवेदन दिँदा कार्यालय प्रमुख श्रेष्ठले काम नगरिदिएको उनले बताइन् ।

‘कात्तिकमा नवीकरण नभए पनि काम गर्दै जानु भनेर भन्नुभयो । मंसिरसम्म पूरै काम गर्दा पनि पैसा आएन । पुस १ गते कार्यालय जाँदा त म तपाईंलाई चिन्दिन भनेर पो भन्नु भयो’, कार्यालय सहयोगी पोडेलले भनिन् । पुस महिनाभर घरमै बसेर आइतबार कार्यालय पुगेकी पोडेलाई श्रेष्ठले ज्यालादारीमा हप्ताको २ दिन काम गर्न भनेका थिए । ‘ज्यालादारीमा गर्दै जानु पछि करारमा राख्दा सोच्नुपर्छ भन्नुभयो’, उनले भनिन् ।

आफूसँगै कार्यालय पुगेका श्रीमान र डा. श्रेष्ठबीच विवाद भएको र धकेलाधकेल भएकोसम्म आफूले थाहा पाएको उनले बताएकी छन् । विवाद सुरु भएपछि आफू बेहोस भएको र हस्पिटलमा आइसकेपछि घटनाबारे सबै थाहा पाएको उनले बताइन् । घटनाबारे बुझ्न कार्यालय प्रमुख श्रेष्ठ र सूचना अधिकारी प्रगति अधिकारीलाई सम्पर्क गर्न खोज्दा उनीहरुको फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्