९ मंसिर २०८१, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

रोहितको अर्धशतक र रमेशको पाँच विकेटमा एपीएफ विजयी

११ माघ, काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा घरेलु टोली लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएकोछ ।

जितको लागि १३४ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ४८ बलमा ४ चौका र १ छक्कासहित ५२ रनको योगदान दिए ।

पुरन बिक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ र अमर राउटेला ८ रनमा नट आउट रहे । लोकेश बम १६ र प्रज्वल शाहीले ५ रनमा आउट भए । लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इखलाख अहमदले १-१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा १३३ रनमा अल आउट भएको थियो । लुम्बिनीका दिलसाद अलीले ४२ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाएका थिए । ओपनर मिर्नल गुरुङले ८८ बलमा ३ चौकासहित ३४ रन जोडे ।

विराट भण्डारी ५१ बलमा ४ चौकासहित २३ रनमा आउट भए । प्रज्जवल थापा ११, मोहम्मद हुसेन ३, कृष्ण कार्की १, शुसान्त थापा २ रनमा आउट भए ।
एपीएफका बायाँ हाते स्पिनर रमेश कुर्मीले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए ।

उनको भैरहवामा जन्मथलो र घरेलु मैदान पनि हो । अर्का स्पिनर भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । रोहित पौडेल र श्याम ढकालले १–१ विकेट लिए ।

एपीएफ ६ खेलमा समान ३ मा जित र हारका साथ छैटौं स्थानमा छ । लुम्बिनी ५ खेलमा १ मा जित र ४ मा हारसहित नवौं स्थानमा छ । योसँगै भैरहवामा पिएमकपका खेलहरु सकिएका छन् ।

पुलिस ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । सुदूर ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी, बागमती र मधेशको समान ८ अंक भएपनि नेटरनरेटका कारण क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । शीर्ष दुई टोली प्रतियोगिताको फाइनल खेल्न पाउँछन् । प्रतियोगिता शीर्ष चार टोलीले इलिट ट्रफी खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्